सिकागो– अमेरिकाको सिकागोस्थित मध्यक्षेत्रमा शुक्रवार भएको सशस्त्र झडपमा दुई विद्यार्थीको मृत्यु भएको सिकागो प्रहरी तथा अग्नि नियन्त्रकले बताएका छन् ।
सिकागो ट्रिब्युनको रिपोर्टअनुसार मृतक विद्यार्थीहरू १६ र १७ वर्षका थिए । उनीहरूसहित विद्यालयका अन्य चार व्यक्तिहरू विद्यालयबाट फर्कँदै गर्दा दुई गाडीमा आएका केही व्यक्तिहरूको समूहले गाडीबाट झरेर गोली हानेका थिए ।
मृतकलाई छातीमा गोली हानिएको र उनीहरूलाई गम्भीर अवस्थामा नर्थवेस्टर्न मेमोरियल अस्पतालमा लगेको केही समयपछि मृत घोषिणा गरिएको सिकागो फायर डिपार्टमेन्टका प्रवक्ता ल्यारी ल्याङफोर्डले बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अप्रिल २०२३ मा सिकागोको मध्यक्षेत्र दुई किशोरहरूलाई गोली हानिएको थियो भने एक वर्षअघि मिलेनियम पार्कको बीन मूर्तिकला नजिकै १६ वर्षीय बालकको गोली हानी हत्या गरिएको थियो ।