
इलाका प्रहरी कार्यालय कोहलपुरमा नागरिक सहायता कक्ष भवन निर्माण गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले नागरिक सहायता कक्ष र महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरे ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले प्रहरीसँग नागरिकले सुरक्षा चाहने हुँदा सुरक्षाका लागि प्रहरी परिसर नै सुरक्षित हुन आवश्यक रहेको बताउँदै इलाका प्रहरी कार्यालयको नवनिर्मित भवन सुरक्षित रहेको बताए ।
“न्याय पाउने आशामा इलाका आउने महिला बालबालिका तथा ज्येष्ठ नागरिकका लागि फरक फरक कार्यकक्षको निर्माण गर्नु नै प्रहरीप्रति नागरिकले विश्वासको वातावरण महसुस गर्नु हो,” उनले भने, “प्रहरीले नागरिकलाई दिने सुरक्षामध्येको एक हो प्रहरी परिसरभित्रको भौतिक संरचना जुन यस इलाकाको गर्न सफल भएको छ ।”
प्रजिअ पोखरेलले कोहलपुर इलाका प्रहरी कार्यालयले देशकै लागि उदाहरणीय काम गरेको बताए ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख आचार्यले आफ्नो नगरमा नागरिकले पाउनुपर्ने हरेक खालका सेवा पाउनुपर्छ भन्दै त्यसका लागि इलाका प्रहरी कार्यालय पनि प्रमुख क्षेत्र भएको बताए ।