
कोका–कोलाले नेपालमा सञ्चालन भएको ५०औं वर्ष मनाएको छ । कम्पनीले एक विशेष कार्यक्रम गरी आफ्नो सञ्चालनको पचासौं वार्षिकोत्सव मनाएको हो । सन् १९७३ मा नेपालमा प्रवेश गरेदेखि नै कोका–कोला नेपाली समुदायको एक अभिन्न अंग बन्न पुगेको थियो ।
पारिवारिक जमघटदेखि राष्ट्रिय स्तरका कार्यक्रमसम्म कोका–कोलाले अविस्मरणीय सम्झनाहरू बनाएको छ । काठमाडौं र चितवन गरी कोका–कोलाको नेपालमा दुई वटा उत्पादन कारखाना रहेका छन् ।
देशभर १ लाखभन्दा बढी रिटेलर आउटलेटहरू भएको कोका–कोलाले १,००० भन्दा बढी कामदारहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको छ भने ५,००० भन्दा बढी मानिसहरू प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
उक्त अवसरमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका अध्यक्ष एनएन सिंहले लजिस्टिक र संस्थागत संरचना पूर्ण रुपमा विकास नभएकाले ५० वर्षअघि नेपालमा पहिलो अमेरिकी कम्पनी भित्र्याउनु नै एक चुनौती रहेको बताए । हालसम्म आइपुग्दा कोका–कोलाले विभिन्न साझेदारसँग बलियो सञ्जाल बनाउन सफल भएको उनले बताए ।
‘कोका–कोलाको उद्देश्य भनेको सारा नेपालीलाई ताजापन महसुश गराउने र समाजमा सकारात्मक प्रभाव पार्ने हो’, उनले भने ।
आफ्नो ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा कोका–कोलाले ‘कोका–कोला फिफ्टी इयर्स क्विज टाइम’ नामक डिजिटल क्विज प्रतियोगिता पनि सञ्चालन गर्ने भएको छ ।
जहाँ ग्राहकहरूले विभिन्न प्रश्नको जवाफ दिएर लक्की ड्र मार्फत आकर्षक उपहारहरू जित्ने मौका पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार खल्ती एप मार्फत क्विजमा सहभागी हुन सकिनेछ ।