काठमाडौं, २० असोज– काठमाडौंको नरदेवीमा रहेको आयुर्वेद चिकित्सालय नरदेवी अस्पताल परिसर बिहीबार सुनसान थियो । दशैंको अन्तिम दिन सर्वाजनिक विदा भएकाले अस्पतालको सेवा बन्द थियो । अन्य अस्पतालहरुमा आकस्मिक सेवा हुने भएकाले सार्वजनिक विदाको दिन पनि अस्पतालमा बिरामीको चहलपहल हुने गर्छ । तर नरदेवीमा बहिरंग (ओपीडी) सेवा मात्रै रहेकाले अस्पताल सुनसान देखिन्थ्यो ।
काभ्रेकी विष्णु रिजाललाई बिहीबार आफन्तहरुले ट्याक्सीमै राखेर हतार हतार काठमाडौंको आयुर्वेद चिकित्सालय नरदेवीमा उपचारका लागि ल्याए । तर बिहीवार दशैंको अन्तिम दिन भएकाले अस्पताल बन्द थियो ।

हातखुट्टा नचल्लने समस्या भएकी रिजाललाई एकसाता अघिबाट बोल्न समेत नसक्ने अवस्था भएपछि उपचारको लागि आयुर्वेदिक अस्पतालमा ल्याइएको उनकी देउरानी गिता रिजालले लोकान्तरलाई बताइन् । ‘गाउँमा स्वास्थ्य चौकीमा पनि उपचार गराएको हो । निको भएन,’ गिताले भनिन्, ‘यहाँ उपचार हुन्छ भन्ने सुनेर ल्याएको आज बन्द पो रैछ ।’
ट्याक्सीको पछाडि सिटमा निकै मलिन अनुहार बनाएर बसेकी विष्णुको स्वास्थय अवस्था निकै नाजुक देखिन्थ्यो ।
अस्पतालको गेटमा रहेका एक कर्मचारीले विदाको दिन अस्पतालले भर्ना लिँदैन भने पछि बन्द रहेको अस्पताल परिसरमा विष्णुका आफन्तहरु अन्योलमा थिए । यसअघि बिरामी पर्दा पनि आयुर्वेदिक उपचार नै गराएकाले अन्य अस्पताल नलगेर नरदेवीमै ल्याएको गिताले बताइन् ।

केही समय पछि अस्पताल प्रशासनमा भनेर उनीहरुले शुक्रबार उपचार गराउने गरी अस्पतामै राख्ने व्यवस्थासम्म मिलाए ।
विष्णु त प्रतिनिधि पात्र मात्रै हुन् । देशकै पुरानो आयुर्वेदिक अस्पताल नरदेवीमा आकस्मिक सेवा नहुँदा उपचारका लागि सार्वजनिक विदाको दिन अस्पताल पुग्नेहरु यतिकै फर्कनुपर्ने बाध्यता रहेको छ ।
अस्पताल परिसरमै बसिरहेका निरधोज थापाले पनि बिहीबार उपचार गर्न पाएनन् । उनले एक महिना अघि देखि पेट पोल्ने र कोख दुख्ने समस्या भएपछि काठमाडौंकै विभिन्न अस्पतालमा उपचार गराए । ‘अस्पतालको औषधीले निको नभएपछि १५ दिन अगाडी यहाँ जचाएर औषधी लिएर गएको थिए,’ उनले लोकान्तरलाई भने, ‘तीन दिन अघि पनि आएको बन्द थियो । आज पनि बन्द रैछ । अस्पताल धाउँदा धाउँदा हैरान भैसके । अस्पताल बन्द हुने दिन नबोलाइदिएको भए दुःख त पाउने थिइँन् ।’
अन्य अस्पतालहरुमा उपचार गराएर निको नभएका दीर्घ रोगीहरु रोग नियन्त्रणको लागि आयुर्वेदिक अस्पताल धाउने गरेका छन् । तर अस्पताल प्रशासन र सरकारको वेवास्ताका कारण राम्रोसँग उपचार पाउन नसकेको बिरामीहरुले गुनासो गरे ।
आयुर्वेद चिकित्सालय नरदेवीमा विहान १० बजेदेखि ३ बजेसम्म मात्रै सेवा सञ्चालन हुने गरेको त्यहाँका एक कर्मचारीले बताए । उनका अनुसार अस्पतालमा आकस्मिक सेवा नभएकाले सरकारी विदाको दिन र १० देखि ३ बजे भित्रको समयमा नपुग्ने विरामीहरु उपचार नै नगराई फर्किने गर्छन् । अस्पतालको सेवा र डाक्टरको व्यवहार राम्रो नहुँदा विरामीको चाप पनि घट्दै गएको छ ।
सरकारी आयुर्वेदिक अस्पतालमा भनेजस्तो सेवा नपाए पछि विरामीहरु महंगो पैसा तिरेर निजी आयुर्वेदिक चिकित्सालयमा उपचार गराउन जानुपर्ने बाध्यता रहेको छ ।

आयुर्वेदिक अस्पतालमा दीर्घ रोगका विरामीहरु धेरै आउने गरेको अस्पतालका डा. सुरेन्द्र शर्माले बताए । ‘आयुर्वेदिक उपचारको लागि विशेष त अन्य अस्पतालमा धाएर ठीक नभएका दीर्घ रोगीहरु यहाँ आउछन् । तर यहाँ अझैपनि पुराना प्रविधिहरुले नै काम चलाउनु पर्ने अवस्था छ,’ उनले भने, ‘अस्पताल प्रशासन र सरकारले पनि आयुर्वेदिक चिकित्सा पद्धतिलाई वेवास्ता गर्दा विरामीले चाहेजस्तो सेवा दिन सकिएको छैन ।’
नयाँ प्रविधि र दक्ष जनशक्ति भएमा धेरै दिर्घ रोगीको उपचारमा सहजता हुने उनको भनाइ छ ।