
काठमाडौं, २० असोज — डेरा सच्चा सौदा प्रमुख राम रहीमकी प्रियपात्र अनि पञ्चकुलामा भएको हिंसाको षड्यन्त्र गरेको आरोप लागेकी हनीप्रीतलाई हरियाणा प्रहरीले सोधपुछ गरिरहेको छ ।

तर हनीप्रीतले प्रहरीलाई सोधपुछमा सहयोग नगरेको अनि आफूलाई कसैले केही गर्न नसक्ने भनेको थाहा भएको छ ।
तैपनि हनीप्रीतका बारेमा प्रहरीले धेरै कुरा थाहा पाएको छ । हनीप्रीतले नै डेराको सबै कारोबार सम्हाल्ने गरेको र पञ्चकुलामा हिंसा मच्चाउन दुई करोड रुपैयाँ दिएको खुलासा भएको छ ।
हरियाणा प्रहरीले बिहीवार हनीप्रीत र उसको सहयोगीले सुखदीप कौरलाई भटिण्डा लगेर साढे दुई घन्टा सोधपुछ गरेको थियो ।
प्रहरीका अधिकांश प्रश्नमा हनीप्रीतले ठीकसँग उत्तर नदिएर गर्दन मात्र हल्लाइरहिन् ।
प्रहरी सूत्रले बताएअनुसार, उच्च तहका प्रहरी अधिकारीहरूले हनीप्रीतसँग कुरा गर्दा उनले भनिन्, ‘तिमीहरू मलाई सोधपुछ गर्न सक्दैनौ । मलाई कसैले छुन पनि सक्दैन ।’
एक अधिकारीले जवाफ फर्काए, ‘हामी केही पनि गर्दैनौं । तर महिला अधिकारीले कुरा गर्नेछिन् । छुने पनि छिन् उनले ।’
हनीप्रीतकी सहयोगी सुखदीपका अनुसार, हनीप्रीत अझै पनि डेरामा शक्तिशाली छिन् । उनले जसलाई कल गरेपनि कसै न कसैले उनलाई पैसा ल्याएर दिन्थ्यो । हनीप्रीतसँग थुप्रै मोबाइल सिम कार्डहरू छन् ।
सञ्चारमाध्यममा आएका सबै खबरहरू हनीप्रीत हेर्ने गर्थिन् । मोबाइलमा इन्टरनेटमार्फत उनी सबै जानकारी लिन्थिन् ।
राम रहीमलाई बलात्कार मुद्दामा कारावास सजाय भएपछि हनीप्रीत ३९ दिनसम्म भूमिगत रहेकी थिइन् ।
एजेन्सी