
काठमाडौं, २० असोज– नेपाल प्रहरीबाट राजीनामा घोषणा गरिसकेका डीआइजी नवराज सिलवाल एमाले पार्टीमा प्रवेश गरेका छन् ।
शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर उनलाई पार्टी प्रवेश गरेका थिए ।
यद्यपि सिलवालले राजीनामा दिएपनि नेपाल प्रहरीले भने उनको राजीनामा स्वीकृति गरिसकेको अवस्था छैन् ।
कार्यक्रममा मुख्य आकर्षणका रुपमा रहेका डीआइजी नवराज सिलवाल र एमाले अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रममा तीनघण्टा ढीला आइपुगेका थिए । सिलवाल पनि केपी ओलीकै गाडीमा चढेर कार्यक्रम स्थल आइपुगेका थिए ।
सिलवालले प्रहरी सेवामा आफूले देखाएको इमान्दारीताको कदर नभएको भन्दै तिक्तता समेत पोखे । साथै उनले प्रहरी सेवामा हुँदा जतिकै इमान्दार रुपमा एमाले पार्टीभित्र बसेर जनताको सेवा गर्ने बताए ।

कार्यक्रममा केपी ओलीले सिलवाललाई इंगित गर्दै देशको जिम्मेवार पदमा रहेका नेपाल प्रहरीका डीआइजी सिलवाललाई समेत अन्यायमा पार्ने काम राजनैतिक दलले गरेको भन्दै एमालेले त्यसको विरोध गरेको जनाए । उनले भने ‘भइसकेको एआइजीलाई राजनैतिक पार्टीले रोकेर हुन नदिएको भन्दै सिलवालका बारेमा आफ्नो धारणा प्रस्तुत गरे ।’
कार्यक्रममा लामै भाषण गरेका सिलवालले भाषण टुंग्याए तर उनले अन्य एमाले नेताले झै लालसलाम भने भन्न बिर्से । उनको छेउमै उभिएका एमाले नेता कृष्णगोपाल श्रेष्ठले सिलवाललाई सम्झाउँदै आजदेखि लालसलाम भन्नुपर्छ कमरेड भन्दा कार्यक्रमस्थलमा हाँसोको फोहरा छुटेको थियो ।
लगत्तै सिलवालले पनि हात माथि हल्लाउँदै लालसलाम भने ।
कार्यक्रममा नेपाली गायक सन्जय श्रेष्ठ समेत एमाले पार्टी प्रवेश गरेका छन् ।
