२५ जेठ २०८३, सोमबार

फागुन ३ देखि पोखरामा ‘लिटरेचर फेस्टिभल’: कार्टुन प्रदर्शनीदेखि विश्वप्रसिद्ध लेखकसम्म आउने

माघ २५, २०८०
पाेखरा
फागुन ३ देखि पोखरामा ‘लिटरेचर फेस्टिभल’: कार्टुन प्रदर्शनीदेखि विश्वप्रसिद्ध लेखकसम्म आउने

सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको एघारौं संस्करण फागुन ३ गतेदेखि बाराहीघाट, लेकसाइड पोखरामा हुने भएको छ ।

आयोजक संस्था बुकवर्म फाउन्डेसनलले बिहीवार पोखरामा पत्रकार सम्मेलन गर्दै ११ औं संस्करणको साहित्य महोत्सव फागुन ३ देखि शुरू भएर ७ गतेसम्म चल्ने जानकारी दिएको  हो ।

महोत्सवको यस वर्षको संस्करण ५५ भन्दा बढी सेसनको हुनेछ । यस्तै साङ्गीतिक साँझ पनि गरिने आयोजकले जनाएका छन् ।

महोत्सवमा वात्स्यायन कार्टुन प्रर्दशनी पनि हुँदैछ । साथै गोर्खा वुमन : एन इको इन द स्टोरी प्रदर्शनी पनि गरिने भएको छ ।  

यस वर्षको महोत्सवमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियस : द ट्रायम्फ एन्ड ट्राजिडी अफ जे रबर्ट ओपनहाइमर’का सहलेखक काई बर्डसमेत सहभागी हुँदैछन् । सो पुस्तकले विश्वप्रसिद्ध ‘पुलिट्जर प्राइज’ जितेको थियो । यसैमा आधारित ओपनहाइमर चलचित्र पनि बनेको छ । 

यता, प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि महोत्सवमा आउँदै छिन् । उनको पुस्तक एभ्रिथिङ द लाइट टचेजका बारेमा चर्चा गरिनेछ । 

विश्वप्रसिद्ध समालोचक एवम् उपन्यासकार चन्द्रहास चौधरीको पनि उपस्थिति हुँदैछ । 

महोत्सवमा हुने सांगीतिक प्रस्तुतिमा कुटुम्ब ब्यान्ड, डा ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा सुमन थापा र द ब्लू फ्रेट ब्यान्ड, विपुल क्षेत्री र उनको द ट्राभलिङ ब्यान्डजस्ता समूहको कन्सर्ट हुँदैछ । 

महोत्सवको पहिलो दिन फागुन ३ मा दिउँसो साढे २ बजेदेखि उद्घाटन सत्र सञ्चालन हुनेछ । उक्त दिन कार्टुन प्रदर्शनीदेखि विद्वत् प्रवचनलगायत कार्यक्रम सञ्चालन हुँदैछ । 

साहित्य महोत्सवले सामाजिक बहस र विमर्श गर्नेछ । यसले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जवाफदेही बनाउन सघाउने महोत्सव निर्देशक नीरज भारीले बताए ।  लोकतन्त्रलाई शक्तिशाली बनाउन पनि यस्ता महोत्सव आवश्यक भएको उनको भनाइ छ । 

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ शुरू भएको नेपाल लिटरेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजक बताउँछन् । यस वर्षको फेस्टिभलको प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्