
उच्च अदालत विराटनगरले बढुवा प्रक्रियाको कानुनी बाटो खोलिदिए पनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलन अझै रोकिएको छैन ।
आन्दोलन जारी रहँदा उपचारका लागि आउने बिरामी र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी मारमा परिरहेका छन् । उच्च अदालतले बुधबार प्रतिष्ठानको अवरुद्ध शिक्षक, कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने कानुनी बाटो खोलिदिएको थियो । तर आन्दोलनरत शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले आज दिउँसो संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कार्यकारिणी परिषद् बैठकबाट बढुवा प्रक्रियाको अन्तर्वार्ता तालिका स्वीकृत नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।
प्रतिष्ठानका निमित्त उपकुलपति प्रा डा प्रल्हाद कार्कीले अदालतको फैसलालाई आफूले सर्वमान्य ठानेका बताए । उनले तत्काल यसको समाधान गर्न शिक्षक तथा कर्मचारीलाई अपिल गरिएको बताए। तर आन्दोलनरत पक्षले भने विश्वस्त हुन नसकेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।