१६ असार २०८३, मंगलबार

भरतपुरका ४ वटा वडामा मेसजाली निर्माण शुरू

माघ २६, २०८०
भरतपुर
भरतपुरका ४ वटा वडामा मेसजाली निर्माण शुरू

​​​​​वन्यजन्तुको उच्च जोखिम रहेको भरतपुरका ४ वटा वडामा मेसजाली निर्माण शुरू भएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रवार एक कार्यक्रमका बीच उक्त आयोजनाको शिलान्यास गरेकी हुन् । भरतपुर वडा नम्बर २३, २४, २७ र २८ मा पर्ने वन्यजन्तु सहज आउन मिल्ने स्थानमा शुरूवाती चरणमा मेसजाली निर्माण गरिने छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले संघ र महानगरको २/२ करोड गरी ४ करोड रुपैयाँको परियोजनाअन्तर्गत पहिलो चरणमा २ करोड ७९ लाखको काम शुरू भएको बताइन् ।

भरतपुरका वडा नम्बर ११, १२, ८, १३, २२, २३ हुँदै २८ सम्म वन्यजन्तुको जोखिम रहेको प्रमुख दाहालले बताइन् । यी वडा मध्ये सबैभन्दा उच्च जोखिम रहेको वडाबाट कामको थालनी गरिएको उनले प्रष्ट पारिन् ।

वन क्षेत्र नजिक भएका वडामा वन्यजन्तुसँगै बाढीको पनि उत्तिकै जोखिम रहेको भए पनि नारायणी र राप्तीको तटबन्ध निर्माण भएसँगै यहाँको प्रमुख समस्याहरू समाधान भएर जाने उनको विश्वास छ ।

प्रमुख दाहालले पश्चिम चितवनवासीको मागअनुसार मेघौली विमानस्थलको स्तरोन्नतिपछिको कार्य पनि शुरू भइसकेको बताइन् । साथै विमानस्थलको क्रमिक रुपमा व्यवस्थापनको कार्य अगाडि बढाइने उनको भनाइ छ ।​​

मेसजाली निर्माणको कार्यका लागि ४ वटा वडाको दक्षिणतर्फ जंगलको सिमानामा २ करोड ७९ लाख २ हजार ४७ रुपैयाँमा ठेक्का सम्झौता भएको महानगरका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न चितवन राष्ट्रिय निकुञ्ज र राप्ती नदीसँग जोडिएको खुला क्षेत्रमा पहिलो चरणमा करिब ३ किलोमिटर मेसजाली निर्माण गरिने इन्जिनियर आचार्यले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्