
नेकपा (माओवादी केन्द्र)ले आफ्ना पार्टी कमिटी जम्बो भएको भन्दै १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने विषयलाई मुख्य प्राथमिकता दिएको छ । फागुन १ गतेदेखि शुरू हुने विधान सम्मेलनका लागि विधान मस्यौदा समितिमार्फत प्रस्ताव तयार गर्ने र छरितो संरचना बनाउनेबारे शुक्रवारको स्थायी कमिटी बैठकमा आवाज उठेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
‘छलफलको सार, संविधानको प्रस्तावना अनुसारको लोकतन्त्रमा आधारित समाजवादतिरै जानुपर्छ भन्ने छ । हाम्रो विधानमा समाजवादउन्मुख राज्यव्यवस्था भनेर उल्लेख गर्नुपर्छ, समाजवादी विचारधारा अभिव्यक्त हुने गरी जानुपर्छ भन्ने कुरा उठिरहेको छ,’ उनले भने, ‘धारणा राख्नेले कमिटी ठूला भए केन्द्रीय कमिटी १५१ सदस्यीय हुनुपर्छ भन्ने सुझाव दिनुभएको छ । यो बैठकले विधान प्रस्तावमात्रै गर्छ अन्तिम निष्कर्ष फागुन १ देखि ३ गतेसम्म चल्ने विधान सम्मेलनले निकाल्छ ।’
कुनै समय माओवादी ४ हजार केन्द्रीय सदस्य बनाएर आलोचना खेप्ने अवस्थामा पुगेको थियो । पछिल्लोपटक माओवादीमा ४०० भन्दा बढी सदस्य केन्द्रीय कमिटीमा पुगेका थिए । पार्टीको आकार र प्रभाव घट्दै गइरहेका बेला जम्बो केन्द्रीय कमिटी बनाएको विषय पार्टीभित्रै आलोचित भएपछि छरितो बनाउने तयारीमा उनीहरू जुटेका हुन् ।
सैद्धान्तिक छलफलका क्रममा शुक्रवार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक विषय, शान्ति प्रक्रियासहितका विषय राखेका थिए । त्यसपछि बैठकमा विधान मस्यौदा कार्यदल संयोजक एवं उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन, शर्मा, गणेश साह र राम कार्कीसहितका नेताले विधान मस्यौदाका विषयमा धारणा राखेको जानकारी उनले दिए ।
विधानका व्यवस्थाबारे मस्यौदा समितिका सदस्यहरूले ब्रिफ्रिङ गरेपछि अब सदस्यहरूलाई लिखित रुपमा सुझाव दिने नेता गणेश शाहले बताए । छरिता कमिटी बनाएर कामकाजी बनाउनुपर्नेमा माओवादीको जोड रहेको उनी बताउँछन् ।
‘हाम्रा केन्द्र र प्रदेशका कमिटीलाई छरितो र व्यवस्थित बनाउनुपर्छ भन्ने विषयलाई विधान मस्यौदामा उल्लेख छ । यसमा केन्द्रीय कमिटी १५१, प्रदेशको कमिटी पनि १२५ आसपास बनाउन प्रस्ताव भएको छ,’ उनले भने, ‘केन्द्रले नीतिगत काम प्रभावकारी गर्न छरितो कमिटी बनाउने र तल्लो तहका कमिटीलाई कामकाजी बनाउनुपर्छ भन्नेमा हामी छौं । अब स्थायी कमिटीका सदस्यहरूले सुझाव दिनुुहुन्छ ।’
केन्द्रीय कमिटीको एक–तिहाइ पोलिब्युरो र यसको पनि एक–तिहाइ स्थायी कमिटीपछि बढीमा ९ सदस्यीय पदाधिकारी राख्ने विषयलाई मस्यौदाले समेटेको छ ।
विधान समितिमा एकमत भएर नआउँदा केही अलमल भएको उनी बताउँछन् ।
मस्यौदा समितिको सदस्य भए पनि उपमहासचिव जनार्दन शर्माले विधानमै चुनावबाट नेतृत्व चयन, पार्टीका सबै तहका पदाधिकारीको उमेर र कार्यकाल तोक्नुपर्ने सहितको प्रस्ताव गरेका छन् ।
पार्टीको तल्लो तहदेखि केन्द्रसम्मै पदाधिकारी बन्न उमेर र कार्यकाल तोक्नुपर्ने, जनवर्गीय संगठनलाई प्रभावकारी बनाउनुपर्ने, पार्टीले टिकट बाँड्दा तलकै कमिटीलाई सक्रिय बनाउनुपर्ने सहितका सुझाव शर्माले पूरक प्रस्तावमा रुपमा दर्ता गराएका छन् ।
यसैले जतिपटक पनि पार्टीमा अवसर पाउने बाटो बन्द गरेर निश्चित अवधि तोक्नुपर्ने दबाब माओवादीमा छ ।
माओवादीमा नयाँ र युवालाई पार्टीमा राजनीतिमा माथिसम्म पुग्ने बाटो नै नभएको भन्दै विधानमा प्रष्ट व्यवस्था गरेर बाटो खोल्नुपर्ने माग भइरहेको छ । विधानले युवालाई अवसर दिने गरी बाटो खुलाउने र विशेष महाधिवेशनपछि पार्टीलाई जनतासँग जोडेर बलियो पार्टीका रुपमा स्थापित गर्नुपर्ने माग माओवादीभित्र छ ।
राजनीति पेचिलो र जटिल
माओवादीको बैठकले वर्तमान राजनीति जटिल र पेचिलो भएको जनाएको छ । ‘अध्यक्षले वर्तमान परिस्थितिकोबारे धारणा राख्नुभयो । यसमा अहिलेको परिस्थिति तरल, जटिल र पेचिलो बन्दैछ भन्ने राख्नुभयो । तर मुख्य कार्यभार कानून बनाउने, शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनुपर्छ भन्ने छ,’ प्रवक्ता सापकोटाले भने, ‘यस विषयमा पार्टीबीच छलफल भइरहेको छ । प्रमुख प्रतिपक्षीसँग पनि उत्तिकै संवाद भइरहेको र अबको अधिवेशनबाटै हदैसम्म लचिलो भएर पनि टीआरसी विधेयक सकेसम्म सहमतिमै पास गर्नुपर्नेमा हुनुहुन्छ ।’
सरकारले सुशासनका लागि एकपछि अर्को कदम चाल्दा अनेक दबाब र अप्ठ्यारो पार्ने काम भएकोबारे पनि समीक्षा गरेको छ ।
जिल्लालाई समन्वय समिति भने पनि राज्यसंयन्त्रले समन्वय नगरेकोबारे पनि माओवादीमा छलफल भएको सापकोटाले बताए ।
‘जिल्ला समन्वय समिति भनेका छौं तर राज्यसंयन्त्र समन्वयतिर नजाँदा समस्या आएको छ,’ उनले भने, ‘यसलाई पनि मिलाउनुपर्छ भन्नेमा सदस्यहरूको जोड छ ।’
पार्टीको दाबी– राष्ट्रियसभा अध्यक्षको विषयले गठबन्धनमा खटपट आउँदैन
माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको विषयले सत्ता गठबन्धनमा खटपट नआउने दाबी गरेको छ । शुक्रवार बसेको स्थायी कमिटी बैठकले नै गठबन्धनमा तत्काल कुनै समस्या नआउने बताएको हो ।
‘राष्ट्रियसभा अध्यक्षको बारेमा कांग्रेसका कतिपय नेताले के–के भने भनेर हिसाब राखेर साध्य छैन,’ बैठकपछि प्रवक्ता सापकोटाले भने, ‘अहिले गठबन्धनमा कुनै समस्या छैन । यो गठबन्धन पाँचै वर्ष जान्छ ।’
नेसपा र वामपन्थीसँग एकता
बैठकले डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग एकता गर्ने निर्णय गरेको छ ।
‘हामी नेसपासँग एकता गर्नुपर्छ भन्नेमा छौं,’ प्रवक्त सापकोटाले भने, ‘समाजवादी मोर्चाले आधार गर्ने र समग्रमा वामपन्थबीच एकीकरण गरेर जाने विषय पनि माओवादीको प्राथमिकतामा छ ।’