२६ जेठ २०८३, मंगलबार

कतारले गर्‍यो एसियन कपको उपाधि रक्षा, तुहियो जोर्डनको सपना

माघ २८, २०८०
काठमाडौं
कतारले गर्‍यो एसियन कपको उपाधि रक्षा, तुहियो जोर्डनको सपना

कतारले एएफसी एसियन कप फूटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । शनिवार राति लुसेल रंगशालामा भएको फाइनलमा जोर्डनलाई ३–१ गोल अन्तरले हराउँदै घरेलु टोली कतारले उपाधि रक्षा गरेको हो ।

कतार साविक विजेताको रुपमा प्रतियोगितामा उत्रिएको थियो । यसअघि सन् २०१९ मा यूएईमा भएको प्रतियोगिता पनि कतारले जितेको थियो । त्यो उसको पहिलो उपाधि थियो । यो पटक लगातार दोस्रो उपाधि जितेको हो । 

फाइनलमा जोर्डनलाई निराश बनाउने क्रममा कतारका लागि अक्रम अफिफले ह्याट्रिक पूरा गरे । उनले सबै गोल पेनाल्टीमार्फत गरेका थिए । अफिफले प्रतियोगिता अवधिभर ८ गोल गर्दै सर्वाधिक गोलकर्तासमेत बन्न सफल भएका छन् । साथै उनी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पनि चुनिए ।

अक्रम अफिफ ।

कतारले खेलको २२औं मिनेटमा अग्रता लिएको थियो । अफिफ आफैँमाथि फाउल भएपछि पाएको पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए ।

खेलको ६७औं मिनेटमा जोर्डनले बराबरी गोल गर्यो । यजान अल–नैमातले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर कतारले त्यसपछि दुई गोल थप्न सफल भयो ।

७२औं मिनेटमा कतारले दोस्रो पेनाल्टी पाएको थियो । सो अवसरमा पनि अफिफ चुकेनन् र कतारलाई खेलमा पुनः अग्रता दिलाए । तेस्रो गोल भने इन्ज्युरी समयको पाँचौं मिनेटमा आएको थियो । यसपटक पनि अफिफमाथि नै फाउल भएको थियो । उनले पुनः कुनै गल्ती नगरी ह्याट्रिक पूरा गरे ।

लगातार दोस्रो उपाधि जित्ने क्रममा कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीनविरुद्ध जीत निकालेको थियो ।

यस्तै अन्तिम १६ मा प्यालेस्टाइनमाथि २–१ को जीत दर्ता गरेको थियो । क्वार्टरफाइनलमा उज्वेकिस्तानविरुद्ध टाइब्रेकरमा विजयी हुँदा कतारले सेमिफाइनलमा इरानलाई हराएको थियो ।

कतारले २०१९ मा जापान माथि ३–१ को जीत निकाल्दै पहिलो पटक उपाधि जितेको थियो ।

उपाधि विमुख भएपछि निराश जोर्डनका खेलाडी ।

अर्कोतिर अप्रत्यासित रुपमा पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको जोर्डन पनि उपाधि जित्ने लक्ष्यमा थियो । तर बल पोसेसन राखेर उत्कृष्ट प्रदर्शन गर्दा पनि जीत निकाल्न असमर्थ भएपछि उ निराश बनेको छ । 

यससँगै जोर्डनको एसियन कपको पहिलो उपाधि जित्ने सपना तुहिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्