
ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घन्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनकोसमेत गएराति मृत्यु भयो ।
उक्त घटनाको प्रारम्भिक अनुसन्धानमा छोराछोरीलाई पहिले केही वस्तुले सास थुनेर हत्या गरी महर्जनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटना हुँदा महर्जनकी सासू छतको अर्काे कुनामा थिइन् । उनी अली बिरामी भएकाले धेरै हिँडडुल गर्न सक्दिनथिन् । रविना छतको बार चढ्न लाग्दा सासूले किन त्यहाँ गएको भनेर सोधेकी र उनले कपडा झरेकाले लिन लागेको जवाफ दिएकी थिइन् ।
“जान हुँदैन भन्दाभन्दै बार चढेर गएकी थिइन्, हाम्फाल्न पो रहेछ”, सासूलाई उद्धृत गर्दै ती अनुसन्धान अधिकृतले बताए । उनले यसअघि कोठामा ढोका बन्द रहेको र ढकढक गर्दा समेत नखोलेको प्रतिक्रिया दिएको बताइएको छ ।
उनका श्रीमान्को साउन्ड सिष्टमको व्यवसाय छ । शनिबार महालक्ष्मी नगरपालिकाको कामको तयारीका लागि उनी घरबाट गएका थिए । रविनाले हाम्फाल्नुअघि उनीसँग थोरै कुराकानी भएको थियो । २ बजेतिर फोन गरेर रविनाले कता हुनुहुन्छ भनेर श्रीमान्लाई सोधेकी थिइन् । श्रीमान्ले ३ बजे काम सकिन्छ र घर आउँछु भन्ने जवाफ दिएर फोन राखेको प्रहरीसँग बताएका छन् । त्यसपछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।
पारिवारिक बेमेल केही देखिएको छैन । कहिलेकाहीँ सामान्य झैझगडा भए पनि ठूलो रिसराग नदेखिएको प्रहरीले बताएको छ । धेरै नबोल्ने महिला भएकाले कुनै कुण्ठा पो थियो की भनेर त्यसतर्फ पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले यो घटनाको अनुसन्धान थालेको छ ।