०९ असार २०८३, मंगलबार

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग आफ्नै भवनमा

फागुन ३, २०८०
काठमाडौं
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग आफ्नै भवनमा

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बुधबारदेखि बल्खुस्थित आफ्नै नवनिर्मित भवनमा सरेको छ । त्रिविका कार्यवाहक उपकुलपति प्रा डा शिवलाल भुसालले विभाग परिसरमा भवनको उद्घाटन गरे ।

विसं २०७३ मा रत्नराज्य लक्ष्मी क्याम्पसमा छुट्टै प्रशासनिक संरचनाअन्तर्गत सञ्चालित केन्द्रीय विभाग अबदेखि बल्खुस्थित सुविधासम्पन्न भवनमा सञ्चालन हुने छ । कार्यवाहक उपकुलपति भुसालले विभागले लामो समयको प्रतीक्षापछि पूर्वाधार प्राप्त गरेको बताए ।  त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग जुटाउन विभागका सम्बद्ध सबैलाई उनले आग्रह गरे ।

पत्रकारिताको प्राज्ञिक अध्ययन अनुसन्धानका लागि आवश्यक सबै सुविधा रहेको केन्द्रीय विभाग भवन चार वर्षमा निर्माण सम्पन्न भएको हो । विश्वविद्यालयले २०३१ सालमा प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिताको अध्ययन अध्यापन सुरु गरेको थियो ।

लामो समय प्रमाणपत्र तह र स्नातक तहको अध्यापन हुँदै आएकामा त्रिविले २०५८ सालदेखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ देखि विद्यावारिधि (पीएचडी) र विसं २०७४ देखि  दर्शनाचार्य तथा विद्यावारिधि (एमफिल पीएचडी) तहको अध्यापन प्रारम्भ गरेको थियो ।

विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले विभागले नेपाली पत्रकारिता हाक्ने ठूलो पङ्क्ति तयार गरेको बताए । विसं २०३३ मा रत्नराज्य लक्ष्मी क्याम्पसबाट सुरु भएको पत्रकारिताको अध्ययन अध्यापनलाई लालदेउसा राई र पी खरेलले अघि बढाएको स्मरण गरे । 

भवन निर्माणका नेतृत्वकर्ता एवं इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक नारायणप्रसाद गौतमका अनुसार  भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि प्राध्यापक आवासलगायत रहेका छन् । उक्त भवन निर्माणका लागि रु २१ करोड ५९ लाखमा निर्माण भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्