
निर्माणको काम अलपत्र छोडेर बेपत्ता ठेकेदारको १६ करोड रुपैयाँ धरौटी जफत भएको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय मोरङले बैंक ग्यारेन्टीबापत् राखिएको ठेकेदारको धरौटी जफत गरेको हो ।
भूमि–बीआईपीएल कन्ट्रक्सनको बैंक ग्यारेन्टी र पर्फमेन्स ग्यारेन्टी बापतको १६ करोड ८३ लाख ६६ हजार ५०० रुपैयाँ जफत गरिएको कार्यालयले जनाएको छ । विराटनगरस्थित कोशी अस्पतालको भवन निर्माणको काम छोडेर भूमि–बीआईपीएल कन्स्ट्रक्सन लामो समयदेखि सम्पर्कविहीन थियो । विराटनगरको रमन–भूमि र बीआईपीएल जेभीले संयुक्त रूपमा कोशी अस्पतालको पाँच तले भवन निर्माण गर्ने ठेक्का पाएको थियो ।
अस्पतालमा निर्माणाधीन भवनको सम्झौता अवधि एक महिना अघिनै सकिएको छ । यस अवधिमा करिब ३० प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको छ । ३० महिनाको अवधिमा ३० प्रतिशत मात्रै काम भएको कार्यालयले जनाएको छ ।
भवन निर्माणको सम्झौता २२ पुसमा सकिएको थियो । निर्माण कम्पनीले राखेको ६ करोड ५५ लाख रुपैयाँ बैंक ग्यारेन्टी १८ माघमै जफत गरिएको थियो । एक हप्ताअगाडि आयोजना इकाइले पर्फमेन्स ग्यारेन्टी (पीबी) १० करोड २८ लाख ६६ हजार ५०० रुपैयाँ पनि जफत गरेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई मोरङका सूचना अधिकारी अशोक रामले जानकारी दिए । अहिले जेबी मध्येकै रमण कन्ट्रक्सनले निमार्णको काम गर्दै आएको छ ।
निर्माणको काम बीचैमै छोडेर भूमि कन्स्ट्रक्सन सम्पर्कविहीन भएको थियो । ठेकेदारले सम्झौताअनुसार काम नगरेको, लिखित, मौखिक ताकेता गर्दा बेवास्ता गरेपछि बैंक ग्यारेन्टी र पफमेन्स ग्यारेन्टी जफत गरिएको हो ।
अहिलेसम्म ३० देखि ३५ प्रतिशत मात्र काम पूरा भएको इन्जिनियरसमेत रहेका सूचना अधिकारी रामले बताए ।
कोशी अस्पतालको नयाँ भवन निर्माणको लागि इकाईले ५० करोड ३४ लाख ४४ हजार ७१४ रुपैयाँमा टेण्डर खुलाएको थियो । रमन भूमि, बीआईपीएल जेभीले ३३ करोड २२ लाख ४८ हजार ९११ रुपैयाँ ३३ पैसामा ठेक्का लिएको थियो ।
जेभीले ठेक्का पाएपछि वि.सं. २०७८ असार २३ गते संघीय आयोजना कार्यान्वयन इकाईसँग सम्झौता गरको थियो । सम्झौतालगतै २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अस्पताल भवनको शिलान्यास गरेका थिए ।
आरम्भमा कृष्ण बोहरा सञ्चालक रहेको भूमि कन्ट्रक्सनले निर्माणको काम सुरु गरेको थियो । निर्माण सुरु गरेको केही दिनपछि भूमिले करिब पाँच महिनाको काम रोकेको थियो । त्यसपछि ठेकेदार बोहरा सम्पर्कविहीन भए । अहिले पवनकुमार महतो सञ्चालक रहेको भूमि कन्ट्रक्सनका पार्टनर रमणले निर्माणको काम शुरू गरेको छ ।
टेन्डर आह्वान गरेकोभन्दा १७ करोड कम लागतमा ठेक्का पारेको जेबीले घाटा लाग्ने भन्दै काम गर्न ढिलासुस्ती गरेको निर्माण व्यवसायीहरूले बताउँछन् ।
निर्माण कम्पनीले हालसम्म ६ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी लिइसकेको छ । भूमि र बीआईपीएलले ५ करोड ६९ लाख ४४ हजार ८९३ रुपैयाँ ४७ पैसा र रमणले ८९ लाख ५५ हजार ७७५ रुपैयाँ भुक्तानी लिएको छ ।