
अभिनेत्री रेखा थापाको फिल्म ‘उपहार’ यही फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।
गत शुक्रवार मात्रै फिल्मको ट्रेलर सार्वजनिक गरियो, जसले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । आइतवार दिउँसोसम्म फिल्मको ट्रेलरलाई ३ लाख ५० हजार बढीले हेरेका छन् । ७ सय बढीले युट्युबमा प्रतिक्रिया दिएका छन् । फिल्म हेर्नका लागि उत्साहित रहेको प्रतिक्रिया दर्शकले दिएका छन् । धेरैले रेखाको प्रशंसा गरेका छन् ।
फिल्मको ट्रेलरमा अनधिकृत रुपमा बनाएका संरचना महानगरपालिकाले भत्काएकोदेखि सडकपेटीमा व्यापार गर्ने सर्वसाधारणको व्यापारलाई नगर प्रहरीले उठाएर लगेको दृश्यसमेत समावेश गरिएको छ ।
सडकमा व्यापार गरेर जीवन चलाउने नागरिकको कथासमेत फिल्मले पेस गर्ने ट्रेलरबाट बुझ्न सकिन्छ । ट्रेलर हेर्दा फिल्मको केही कथावस्तु काठमाडौं महानगरले हालै सडक व्यवसायीलाई सडक र फुटपाथमा व्यवसाय गर्न नपाइने भनेर लगाएको नियमसँग मिल्ने आँकलन गर्न सकिन्छ ।
ट्रेलरमा हाँसो, रोदन, प्रेमको मसला पाइन्छ ।
फिल्ममा समावेश बाबुल गिरी र एलिना चौहानको स्वर रहेको गीत ‘वाह वाह...’ले पनि दर्शकको राम्रो प्रक्रिया पाइसकेको छ ।
ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाललगायतको अभिनय छ ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् । सुलक्षण भारतीको कथा रहेको फिल्मको पटकथा एवं संवाद भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माले मिलेर तयार पारेका हुन् ।
फिल्म प्रदर्शन मिति नजिकिरहँदा अभिनेत्री रेखा भने केही समयदेखि अमेरिकामा छिन् ।
उनी आफ्नो पहिलो सन्तानलाई जन्म दिएर मात्रै नेपाल फर्किने छिन् ।