०९ साउन २०८३, शनिबार
आईसीसी क्रिकेट 'लिग टु'

कीर्तिपुरमा पहिले ब्याटिङ गरेर खेल जित्नै नसकिने हो ? यस्तो छ ओडीआई र पीएम कपको तथ्यांक

फागुन ७, २०८०
काठमाडौं
कीर्तिपुरमा पहिले ब्याटिङ गरेर खेल जित्नै नसकिने हो ? यस्तो छ ओडीआई र पीएम कपको तथ्यांक

कीर्तिपुरमा जारी आईसीसी विश्वकप क्रिकेट 'लिग टु'अन्तर्गत शुरूआति ३ खेलमा पहिले ब्याटिङ गर्ने टीम फराकिलो अन्तरले पराजित भएपछि पहिले ब्याटिङ गरेर जित्नै नसकिने हो त भन्ने आशंका व्यक्त हुन थालेको छ ।

पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेट, दोस्रो खेलमा नेदरल्यान्ड नेपालसँग ९ विकेट र तेस्रो खेलमा नेदरल्यान्डसँग नामिबिया ७ विकेटले पराजित भएका छन् ।

टस हारेर पहिले ब्याटिङमा बोलाइएका टीमले १५० रनको आंकडा पनि छुन सकेको देखिँदैन । के साँच्चै कीर्तिपुरमा पहिले ब्याटिङ गरेर वन्डे खेल जित्न सकिँदैन त ? हेरौं तथ्यांक :

 

३१ ओडीआईमा ११ खेल पहिले ब्याटिङ गर्ने टीम विजयी

कीर्तिपुरमा ५ फेब्रुअरी २०२० देखि १९ फेब्रुअरी २०२४ को बीचमा जम्मा ३१ वटा एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल भएका छन् ।

त्यसमध्ये २० वटा खेलमा सेकेन्ड ब्याटिङ गर्ने टीम विजयी भएको छ भने ११ खेलमा पहिले ब्याटिङ गर्नेले बाजी मारेको छ ।

नेपालले कीर्तिपुरमा हालसम्म ९ ओडीआई खेलमा पहिले ब्याटिङ गरेको छ । त्यसमध्ये ५ खेल जितेको छ भने ४ वटामा पराजय व्यहोरेको छ । 

नेपालले ८ फेब्रुअरी २०२० मा अमेरिकालाई ३५ रन, ९ मार्च २०२३ मा पीएनजीलाई ५२ रन, १२ मार्च २०२३ मा यूएईलाई १७७ रन, २१ अप्रिल २०२३ मा ओमानलाई ८४ रन र ८ फेब्रुअरी २०२४ मा क्यानडालाई ७ रनले पराजित गरेको छ ।

पहिला ब्याटिङ गर्दा  नेपालले ओमान, पीएनजी, यूएई र नामिबियासँग १/१ खेल हारेको छ ।

 

पहिलो इनिङको सर्वाधिक रन ३१०

कीर्तिपुरमा पहिले ब्याटिङ गर्दाको सर्वाधिक रन ३१० हो, जुन नेपाल र यूएईको नाममा संयुक्त छ । २१ अप्रिल २०२३ मा नेपालले ओमानविरुद्ध ८ विकेट गुमाएर ३१० रन जोडेको थियो ।

यूएईले भने १६ मार्च २०२३ मा नेपालविरुद्ध नै ६ विकेट गुमाएर ३१० रनको योगफल तयार पारेको थियो ।

 

पीएम कपमा पहिले ब्याटिङ गर्ने टीम हावी

घरेलुतर्फ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत यस वर्ष कीर्तिपुरमा १९ खेल भएका थिए । त्यसमध्ये १२ खेल पहिले ब्याटिङ गर्ने टीमले जितेको छ भने ७ खेलमा दोस्रो ब्याटिङ गर्ने टीमले जित हात पारेको छ ।

केही दिनअघि मात्र सम्पन्न प्रतियोगितामा कीर्तिपुरमा पहिले ब्याटिङ गर्ने टीम नै हावी हुनुले पनि पहिले ब्याटिङ गरेर जित्नै नसकिने तर्कलाई बल पुर्‍याउँदैन ।

तर, बिहानको करिब एक घण्टाको समयमा बलरलाई बढी फाइदा पुग्ने गरेको खेलाडीहरू बताउँछन् । शुरूआति १० ओभरमा विकेट जोगाउन सके टस फ्याक्टरले खासै प्रभाव नपार्ने एक पूर्व खेलाडीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्