
काठमाडौं, २२ असोज — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियासँग २५ वर्षदेखि गरेको सम्झौता असफल भएको र अमेरिकी मध्यस्थकर्ताहरूलाई उसले ‘बेवकुफ बनाएको’ भनी शनिवार ट्वीट गरेका छन् ।

त्यसपछि उनले रहस्यमयी ढंगले थपे, ‘अब यसको एउटै मात्र उपाय छ ।’
अमेरिकी समयअनुसार, शनिवार दिउँसो गरिएका दुई ट्वीटमा उत्तर कोरियासँगका विगतका सबै सम्झौताहरू उल्लंघन भएको उल्लेख छ ।
शनिवार पत्रकारहरूले रहस्यमयी ट्वीटका बारेमा कुरा गर्दा ट्रम्पले यतिमात्र भने, ‘तपाईंहरूले छिट्टै थाहा पाउनुहुनेछ ।’
ट्रम्पका ट्वीटका सम्बन्धमा ह्वाइट हाउस प्रेस सचिव साराह स्यान्डर्सलाई सोध्दा उनले सबै विकल्पहरू खुला रहेको अनि त्यसभन्दा बढी केही नभन्ने बताइन् ।
ट्रम्पले उत्तर कोरिया र त्यहाँका नेता किम जोङ–उनलाई चुनौती दिनका लागि सामाजिक सञ्जाल प्रयोग गरेको यो पहिलो अवसर हैन । प्योङयाङले आणविक हतियार र ब्यालिस्टिक क्षेप्यास्त्रहरू लगातार परीक्षण गरिरहँदा किमलाई ट्रम्पले ट्वीटरमा ‘रकेट मानव’ उपनाम दिएका छन् ।
सीएनएनबाट