
काठमाडौं २२ असोज– सधैं प्रतिपक्षमा बस्ने संसद्को सानो वामपन्थी दल नेपाल मजदुर किसान पार्टीले आशन्न प्रदेश र प्रतिनिधि सभा चुनावमा कसैसँग तालमेल नगर्ने भएको छ ।
नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको वामपन्थी गठबन्धन र कांग्रेसको नेतृत्वमा बन्न लागेको लोकतान्त्रिक गठबन्धनसँग आफूहरुको सिद्धान्त नमिल्ने नेमकिपाले बताएको छ ।
‘वामपन्थी गठबन्धन भनिएपनि एमाले र माकेको गठवन्धन सत्ताका लागि गरिएको गठबन्धन हो । कांग्रेसको नेतृत्वमा बन्ने भनिएको गठबन्धन पूँजीवादी गठबन्धन होे’ नेमकिपा नेता प्रेम सुवालले आइतवार लोकान्तसँग भने, ‘यस्तो सिद्धान्तहीन गठबन्धनमा सहभागि हुनु भनेको जनताको शोषण गर्नु र देशलाई उपनिवेश बनाउनु जस्तै हुन्छ ।’
संसदमा चार सांसद् रहेको नेमकिपाले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा एक्लै लडने तयारी गरेको छ । ‘सिद्धान्त नमिल्नेसंग तालमेल गर्नु भन्दा हामी जनताको पक्षमा एक्लै लड्छौ’ सुवालले भने । उनले एमाले र माओवादी सत्ताका लागि जेपनि गर्ने भएकोेले उनीहरु भाई कांग्रेसको संज्ञा दिए ।