
दाङमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । घोराही–तुलसीपुर सडकखण्डमा रा ५ प ५४५३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा २ झ ३६५२ नम्बरको बोलेरोले ठक्कर दिँदा रोल्पाका दुई युवाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २१ वर्षीय विवेक पुन र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय नेत्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
सडकमा गुडिरहेको साइकल चालकलाई जोगाउन खोज्दा अनियन्त्रित भएको मोटरसाइकल बोलेरोसँग ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनापछि प्रहरीले बोलेरो चालक रोल्पाको त्रिवेणी गाउँपालिका–२ का २९ वर्षीया निर्मल बुढालाई पक्राउ गरेको छ ।