
कोशी प्रदेश सरकार र पहिचान पक्षधर (प्रदेश पुनः नामकरण संघर्ष समिति)बीचको दोस्रो चरणको वार्ता विराटनगरका शुरू भएको छ । वार्ता प्रदेश राजधानी विराटनगरको इस्टन स्टार होटलमा बुधवार दिउँसो ४ बजे शुरू भएको हो ।
यसअघि गत माघ २६ गते दुवै पक्षबीच पाँच बुँदे सहमति भएको थियो ।
पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाको सरकारले निःशुल्क उपचार गर्ने र आन्दोलनकारीमाथि लगाइएका मुद्दा सरकारले फिर्ता लिने सहमति भएको छ ।
फागुन १० गतेअगावै दुवै पक्षको सहमतिमा पुनः वार्ता गर्ने पहिलो चरणमै सहमति भएको र पहिलो चरणमा भएको वार्तामा भएका सहमति र उपलब्धिका बारेमा छलफल हुने जनाइएको छ ।
सरकारी वार्ता टोलीमा बुधवार उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्री थपिएका छन् । यसअघि भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगू संयोजक रहने गरी वन वातावरण तथा पर्यटनमन्त्री गणेश उप्रेती तथा आन्तरिक मामिला मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललाई सदस्य राखेर समिति बनाइएको थियो ।
केहीदिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले खत्रीलाई पनि सदस्यमा थप गर्ने निर्णय गरेको हो ।
पहिचान पक्षधरले प्रदेशको नाम कोशी राखिएकोमा आपत्ति जनाउँदै आएका छन् । उनीहरूमध्ये अधिकांशको माग किरात–लिम्बुवान प्रदेश हुनुपर्ने छ ।