
यही फागुन २५ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ ।
बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरलाई ‘डर र शक्तिको खेल’को रूपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरू सबैलाई समेटिएको छ ।
यो ग्याङस्टार फिल्मले नेपालको तराई क्षेत्रको कथा प्रस्तुत गर्छ ।
टे«लर रिलिज कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक अर्जुन सुवेदीले ‘रङ्गेली’ दर्शकले चाहेको जस्तो फिल्म बनाउने कोसिस गरेको बताए । ‘प्रचण्ड गर्मीको मौसममा तराई क्षेत्रमा धेरै मेहनत गरेर यो फिल्म बनाएका छौँ । रङ्गेलीको कथा तराई क्षेत्रको कथा हो । ट्रेलर हेरेर इमानदार प्रतिक्रिया चाहेको छु । हामीले दर्शकले चाहेको जस्तै फिल्म बनाउने कोसिस गरेका छौँ’ उनले भने ।
अभिनेता रुपेश झाले ‘रङ्गेली’ले तराईको कथा मात्र नभनी त्यहाँको संस्कृति पनि झल्काउने बताए । अभिनेता प्रवीण खतिवडाले फिल्म बनाउनु र रिलिज गर्नु सहज नभएको बताउँदै दर्शकको साथको अपेक्षा गरेको जनाए ।
‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका छ । फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत छ ।
जितेन्द्र खतिवडा र अनुज जङ्ग थापा फिल्मको कार्यकारी निर्माताका रुपमा छन् । संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ निर्माता हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईं सह–निर्माता छन् । सुशन प्रजापतिको छायांकन, श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।
शिवरात्रिको अवसर पारेर फिल्म प्रदर्शनमा आउन लागेको हो ।