
बाराको निजगढमा सोमवार ग्यास सिलिण्डर पड्किँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
सोमवार दिउँसो १२ बजेको समयमा निजगढ नगरपालिका–७ निजगढ बजारमा सञ्चालनमा रहेको रेशम मगरको रोहित वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर विस्फोट भएको थियो ।
विस्फोटमा निजगढ नगरपालिका–५ बस्ने ४५ वर्षीय रेशम मगरको सोमवार नै मृत्यु भएको थियो ।
गम्भीर घाइते भएका मगरको बयोधा अस्पताल वीरगञ्ज, पर्सामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
यस्तै, भारतको गवाईका ३५ वर्षीय राकेश जयसवाल उपचारको क्रममा गएराति र वीरगञ्ज महानगरपालिका वडा ९ बस्ने २० वर्षीय रितु रजतको बयोधा अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, विस्फोटमा परेका ३ जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा निजगढ नगरपालिका ५ का ४५ वर्षीय सूर्यबहादुर थापा, वीरगञ्ज महानगरपालिका ९ का ३४ वर्षीय फिरोद देवान र भारतको रामघडवा बस्ने २० वर्षीय अरविन साह छन् । उनीहरूको स्थानीय अस्पतालमा भइरहेको छ ।
विस्फोटपछि प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको मोतिहारीका ४० वर्षीय राज भन्ने रमेश जैसवाल र बाराको निजगढ नगरपालिका ९ का २९ वर्षीय टीकाराम पाख्रिङ रहेका प्रहरीले जनाएको छ ।