
डा. शेखर कोइराला समूहको बहिष्कारका बीच नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको केन्द्रीय समितिको बैठक बसेको छ ।
केही जिल्लामा सभापति चयन र अध्यक्ष दुजाङ शेर्पाले एकलौटी गरेको आरोप डा. शेखर समूहले लगाउँदै आएको थियो । तर शेर्पा समूहले विवादका बीच बैठक नरोकेको हो ।
‘जिल्ला अध्यक्षको विवाद छँदै थियो । अध्यक्षले समन्वयकारी भूमिका निर्वाह गरेर बैठक बोलाउनुभएन । यसमा समस्या देखिएको थियो’, असन्तुष्ट समूहका नेता सुवास पौडेलले लोकान्तरसँग भने, ‘७१० सदस्यीय तदर्थ समितिमा बहुमत सदस्य पनि सहभागी नभइ बैठक बसेको जानकारी पाएका छौं ।’
आफूहरूविना नै बैठक बसेको भन्दै इतर पक्षले पत्रकार सम्मेलन गरेर विरोध जनाएको छ ।

विवाद भएपछि कोइराला निकट केन्द्रीय सदस्यले मंगलबार सभापति शेरबहादुर देउवालाई उनकै निवास पुगेर ज्ञापनपत्र बुझाएका थिए । शेखर समूहको ध्यानाकर्षणपछि देउवाले नेविसंघ अध्यक्ष शेर्पालाई फोन गरी विवाद मिलाएर मात्रै बैठक गर्न निर्देशन दिएका थिए । तर पूर्व निर्धारित तालिका अनुसार प्रज्ञा भवनमा नेविसंघको केन्द्रीय समितिको बैठक बसेको छ ।
सहभागी एक नेताले अर्को पक्षको बहिष्कारकाबीच बैठकको उद्घाटनमात्रै भएको जानकारी दिए ।
मुख्यगरी अध्यक्ष शेर्पाले बारा, सुनसरी, दोलखा, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासीसहितका जिल्लामा अध्यक्ष चयन गर्दा एकलौटी गरेको आरोप इतर पक्षले लगाएको छ ।
सभापति देउवाले गत साउनमा ७१० सदस्यीय तदर्थ समिति गठन गरेका थिए । अध्यक्ष शेर्पालाई छिटो छिटो १२ औं महाधिवेशन गर्ने जिम्मा शेर्पालाई दिइएको छ ।
शेर्पाले असारमा महाधिवेशन गर्ने कार्यतालिका महासमितिको बैठकमा पेश गरेका थिए ।
तर पहिलो बैठकमै विवाद भएको छ ।