काठमाडौँ, २८ पुस - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक शक्ति सन्तुलनले भ्याएसम्म जनजातिका मागको सम्बोधन गर्न प्रयास गरिने बताएका छन् ।

नेपाल आदिवासी जनजाति महसङ्घका प्रतिनिधिसँगको आजको भेटमा प्रधानमन्त्रीले सम्बोधन गर्न बाँकी जनजातिका मागको सङ्घीय आयोगमार्फत अधिकतम सम्बोधन गरिने बताए ।
भेटमा जनजाति अगुवाले विगतमा जनजातिसँग भएको सहमतिको कार्यान्वयन गर्न तथा स्थानीय तह पुनःसंरचना आयोगबाट विशेष, स्वायत्त र संरक्षित क्षेत्र निर्धारण गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीले संविधान संशोधन प्रस्तावमा सहयोग गर्न जनजाति अगुवालाई आग्रह गरेका थिए । जनजाति अगुवाले संशोधन प्रस्तावमा आफूहरुको सहमति रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।