२३ असार २०८३, मंगलबार

३ सय सामुदायिक रेडियोमा किशोरीले नेतृत्व गर्दै

कात्तिक २०, २०७४
 ३ सय सामुदायिक रेडियोमा किशोरीले नेतृत्व गर्दै

* सन्दर्भ तस्वीर

काठमाडौं, २३ असोज - संयुक्त राष्ट्रसंघको आह्वानमा २०१२ देखि अक्टोबर ११ लाई अन्तर्राष्ट्रिय बालिका दिवस विश्वव्यापी रुपमा मनाउने क्रममा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गरिएको छ ।
यसक्रममा यो पटक नेपालमा ३ सय किशोरी एक दिन नयाँ भूमिकामा देखिने भएका छन् । अक्टोबर ११ असोज २५ गते छैटौं विश्व बालिका दिवसका अवसरमा नेपालमा ३ सय किशोरी रेडियोकर्मीको भूमिकामा देखिने भएका छन् ।

यसअघि कहिल्यै रेडियोमा काम नगरेका ३ सय किशोरी एक दिन रेडियोकर्मीको हैसियतमा जिम्मेवारी वहन गर्दैछन् । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपाल र बालबालिका तथा किशोरीहरुको समानताका लागि क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपालको सहकार्यमा “म बालिका भएकीले” भन्ने अभियान अन्तर्गत नेपालका ३ सय सामुदायिक रेडियोहरुमा बहसमूलक कार्यक्रम चलाउन लागेका हुन् । किशोरीहरुलाई उनीहरुको नियमित संलग्नता भन्दा फरक भूमिकामा निश्चित समयसम्म जिम्मेवारी बहन गराउने अभियानको रुपमा यो कार्यक्रम गर्न लागिएको हो ।

प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्स भन्नुहुन्छ– “रेडियो टेकओभर किशोरीहरुका लागि उनीहरुको सवालका बारेमा नीतिनिर्माता, नेता र अधिकारकर्मीसँग छलफल गर्ने र उनीहरुलाई प्रतिबद्ध बनाउने विशिष्ट अवसर हो । परिवर्तनका संवाहकको रुपमा किशोरीहरुले नीति निर्मातालाई सकारात्मक कार्य गर्न र उनीहरुको हैसियतलाई नीति र अभ्यासमा परिवर्तनका लागि प्रयोग गर्न तथा किशोरीको न्याय र समानता प्रर्वद्धनका लागि प्रेरित गर्दछन् ।

राष्ट्रिय निर्देशक कोपेन्सले भन्नुभयो– “ ७७ जिल्लामा ३०० टेकओभरमा भाग लिंदा किशोरीहरुले उनीहरुको व्यक्तिगत र सार्वजनिक जीवनलाई पछाडि पार्ने विभेद र पक्षपातको अन्त्य र परिवर्तनको माग गर्नेछन् । किशोरी टेकओभर प्लान इन्टरनेशनलको म बालिका भएकीले भन्ने पहल र योसँग सम्बन्धी किशोरी अभियानको एउटा अंश हो, किशोरी अभियानसँग सम्वन्धित छ र किशोरीहरुको शक्ति र क्षमता प्रवद्र्धन गर्ने बलियो अभिव्यक्ति हो । यसले किशोरीलाई शक्तिशाली र सशक्त बन्न उत्प्रेरित गर्दछ । जब किशोरीले जीवनमा समान अवसर र मौका पाउँछन्, उनीहरु स्वयंम्ले आफ्नो जीवनमा परिवर्तन गर्न सक्छन् र उनीहरुको समुदायकोे विकास र समृद्ध गर्न सक्छन् ।”

देशभरका गरी ३०० वटा सामुदायिक रेडियोहरुका नियमित तथा चर्चित बहसमूलक कार्यक्रमको नेतृत्व तथा सञ्चालन किशोरीले गर्नेछन् । सिक्ने र नेतृत्व लिने कार्यमा किशोरीले पनि उत्तिकै क्षमता बहन गर्न सक्छन् भन्ने धारणा निर्माण गराउनका लागि रेडियो कार्यक्रममा किशोरीको नेतृत्वको अवसर प्रदान गर्न लागिएको सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष सुवास खतिवडा बताउनुहुन्छ ।

कार्यक्रमको नेतृत्व लिनुअघि रेडियो मार्फत् उनीहरुलाई अभिमुखिकरण तालिम दिइनेछ । बहसमूलक रेडियो कार्यक्रममा नीति निर्माताहरु, जनप्रतिनिधिहरु र सरकारी अधिकारी र अधिकारकर्मी तथा यस क्षेत्रका बिज्ञहरुलाई निम्त्याएर आफू तथा आफूजस्तै अन्य किशोरीहरुका सवालमा छलफल गर्नेछन् । कार्यक्रमलाई प्रश्नहरु सोध्ने तथा समाधानका लागि प्रतिबद्धता लिने अवसरको रुपमा लिइएको छ । “यो कार्यक्रमबाट ३ सय जना किशोरीको नेतृत्वदायी क्षमता विकास हुनेछ र एकैदिन देशैभरी किशोरीका समस्याका विषयमा बहस हुनेछ” अकोराबका अध्यक्ष खतिवडाले भन्नुभयो, “यो कार्यक्रम नयाँ नमूनाको कार्यक्रम पनि हुनेछ ।”

“म बालिका भएकीले” भन्ने प्लान इन्टरनेशनलको विश्वव्यापी अभियान हरेक ठाउँमा किशोरीहरुले सिक्ने, नेतृत्व लिने, निर्णय गर्ने र आफूलाई समृद्ध गर्ने वातावरण सुनिश्चित गर्न सञ्चालन गरिएको हो । मिडियामार्फत् नेपालमा किशोरी अधिकार प्रवद्र्धनका लागि प्लान इन्टरनेशनल नेपाल र अकोराववीच हातेमालो गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्