काठमाडौं, २९ पुस-सरकारले संविधान संशोधन विधेयक पास गराउने रणनीतिका साथ सहमतिको खोजी र मन्त्रिपरिषद् विस्तारलाई एकसाथ अघि बढाएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको सहमतिअनुसार संविधान संशोधन विधेयक सहमतिमै पारित गराउन सरकारले प्रमुख प्रतिपक्ष एमालेसहितका विपक्षी दललाई मनाउने गृहकार्यसँगै सरकार विस्तारको गृहकार्य पनि अघि बढाएको आजको राजधानी दैनिकमा खबर छ |

सत्ता गठबन्धनमा दुई तिहाइ पु-याउने उद्देश्यले सरकार विस्तार गर्न आन्तरिक छलफल अघि बढाइएको एक मन्त्रीले जानकारी दिए । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई समेत सरकारमा ल्याउन अन्तिम पहल गरिरहेको छ । राप्रपा र राप्रपा नेपालबीच एकीकरणपूर्व राप्रपाका तर्फबाट दुई मन्त्री सरकारमा सहभागी रहे पनि एकीकरणपछि राप्रपाले संशोधनका केही विषयवस्तुमा असन्तुष्टि जनाउँदै आएको छ ।
स्रोतका अनुसार राप्रपाका कार्यकारी अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संशोधन विधेयकमा सहमति जनाउने प्रतिबद्धता जनाएको अवस्थामा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिने गरी प्रधानमन्त्रीले प्रस्ताव राखेका छन् । तर, राप्रपाले प्रदेश ५ टुक्र्याउने संशोधनमा सहमति हुन नसक्ने र देशहितअनुकूल नरहेको निर्णय गरिसकेकाले अप्ठ्यारो परेको छ ।
स्रोतका अनुसार एमाले, नेमकिपा, माले र जनमोर्चाबाहेकका दलहरू मन्त्री दिए सरकारमा आउने आँकलन सत्तारूढ दलको रहेको छ । यसका लागि प्रधानमन्त्री दाहालसँगै कांग्रेस सभापति शेरबहादुर देउवा निकै सक्रिय रहेको स्रोतले बतायो ।