१५ असार २०८३, सोमबार

धान फल्ने खेत मासेर व्यावसायिक केरा खेती, घरैबाट हुन्छ बिक्री

फागुन २५, २०८०
इलाम
धान फल्ने खेत मासेर व्यावसायिक केरा खेती, घरैबाट हुन्छ बिक्री

व्यावसायिक केराखेती गर्दै आएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका छन् । पाँच सय बोटले आम्दानीसमेत दिन थालेको उनले सुनाए ।

‘मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी दिन थालिसकेको छ’, उनले भने, ‘प्रतिघरी रु सात सय ५० सम्ममा घरैबाट बिक्ने गरेको छ, धान खेतीभन्दा तेब्बर बढी आम्दानी हुँदोरहेछ ।’ 

रोपेको नौ महिनादेखि एक वर्षमा पहिलो उत्पादन लिन सकिने भएकाले व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी लिन सकिने अनुभव उनले बताए ।

माई–९ बोरुङका किसान कृष्ण येक्तेनले पनि राम्रै अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक केरा लगाएका छन् । 

राम्रै धान उत्पादन हुने करिब १० रोपनी जग्गामा उनले पाँच सय बोट केरा लगाएका छन् । थोरै लगानी र कम मेहनतमा नै व्यावसायिक खेती गर्न सकिने भएकाले केराखेती शुरू गरेको उनले बताए । 

‘अन्य खेतीजस्तो धेरै मेहनत र लगानीसमेत नपर्ने भएकाले व्यावसायिक तवरले केराखेती सुरु गरेको हुँ’, उनले भने, ‘बिक्री नहुने हो की भन्ने कुनै समस्या हुँदैन, व्यापारी घरघरमा नै आउँछन्, प्रतिघरी रु पाँच सयदेखि सात सय ५० सम्म बगानबाटै बिक्री हुने गर्दछ ।’

केरी खेतीबाट वार्षिक रु एक लाख ५० आम्दानी गर्ने गरेको सुनाउँदै उनले यस वर्ष खेती विस्तार गर्ने योजना रहेको सुनाए ।

व्यावसायिक केरा खेती शुरू गरेपछि घर व्यवहार चलाउन नगद जुटाउनसमेत सहज भएको अर्की किसान कर्णकुमारी साउनदेनले बताए ।

‘मैले पाँच रोपनी जग्गामा दुई सय बोट केरा रोपेको छु, केहीले आम्दानीसमेत दिन थालेको छ’, उनले भने, ‘मैले एक वर्षमा रु ७५ हजारभन्दा धेरैको आम्दानी गरेको छु, यसले घरव्यवहार चलाउन समेत सहज भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्