
रूपन्देहीको लुम्बिनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-६ स्थित लुम्बिनीबाट सुर्यपुरातर्फ जाँदै गरेको लु ८७ प ४२१२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु २४ प ७८५ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा लु २४ प ७८५ नम्बरको मोटरसाइकल चालक हुन् । मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका-३ बस्ने २४ वर्षीय राजमन लोनिया रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता मनोहर भट्टले जानकारी दिए ।
दुर्घटनामा परी सोही मोटरसाइकलमा सवार दैलेख जिल्लाका २३ वर्षका भुपेन्द्र शाहीसहित चारजना घाइते भएका छन् ।
दुर्घटनामा परी घाइते भएका रुपन्देहीको गैडहवा गाउँपालिका-३ बस्ने ३४ वर्षीय राजेश चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै ३४ वर्षकी पवित्रा चौधरी, ७ वर्षका रिजिना चौधरी पनि दुर्घटनामा परी घाइते भएका छन् ।