
अपाङ्गता भएका व्यक्तिको यथेष्ट तथ्याङ्क नहुँदा विपद् व्यवस्थापनमा समस्या भएको सरोकारवालाले बताएका छन् ।
सीवीएम नेपालको सहयोग र प्रदेश सरकारसँगको समन्वयमा राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशले वीरेन्द्रनगरमा गरेको अभिमुखीकरण कार्यक्रमका सहभागीले अपाङ्गता भएका व्यक्तिको पर्याप्त तथ्याङ्क नहुँदा विपद् व्यवस्थापनमा समस्या भएको बताए ।
अभिमुखीकरण कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले पर्याप्त तथ्याङ्कबिना विपद् व्यवस्थापनको काम गर्न असहज भएको बताए ।
कुन–कुन प्रकृतिका अपाङ्गता भएका व्यक्ति छन् भनेर पालिकाले तथ्याङ्क राख्नुपर्ने भन्दै उनले अनि मात्रै विपद् व्यवस्थापन गर्दा सहज हुने बताए । भवन निर्माणका लागि नक्सा पास गर्दा अपाङ्ग मैत्री बनाएर दिनुपर्ने उनको सुझाव थियो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले विपद् व्यवस्थापनको कार्य गर्दा अपाङ्गता भएका व्यक्तिको लेखाजोखा आवश्यक रहेको बताए । उनीहरूलाई तालिमसमेत आवश्यक भएको उनको भनाइ थियो ।
भूकम्पबाट प्रभावित अपाङ्गता भएका व्यक्तिको राहतमा पहुँच पुग्न नसकेको अध्यक्ष शर्मा बताउँछन् । 'भूकम्पबाट अपाङ्गता भएका कति व्यक्ति प्रभावित भए भन्ने यथेष्ट तथ्याङ्क छैन', उनले भने ।
कर्णाली प्रदेश योजना आयोगका सदस्य जीतबहादुर शाहले अपाङ्गता भएका व्यक्तिसँग आफ्ना सुझाव दिन आग्रह गरे ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले अपाङ्गता भएका व्यक्तिको हरेक क्षेत्रमा पहुँच पुर्याउने गरी नीति बनाएर त्यसलाई कार्यान्वयन गरिने बताए ।
भूकम्पपछि पुनर्निर्माण गरिने संरचना अपाङ्गता मैत्री बनाउन पहल गर्ने उनले आश्वासन दिए ।
अभिमुखीकरण कार्यक्रममा अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका जीतलाल ढकालले भूकम्प प्रभावित क्षेत्रमा अपाङ्गता भएका व्यक्तिको पहिचान नभएको तथा राहतमा अपाङ्गता भएका व्यक्तिको पहुँच पुग्न नकसेको गुनासो गरेका थिए ।