
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यही फागुन ३० गते विश्वासको मत लिने गरी तयारी गरेका छन् ।
नेपाली कांग्रेससँगको सत्ता समीकरण फेरेर नेकपा एमालेसहितको गठबन्धनमा सामेल भएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
शनिवार अपरान्ह माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ । 'फागुन ३० गतेको मिति उपयुक्त हुन्छ कि भनेर प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ,' माओवादी केन्द्रका एक सांसदले भने, 'हामी सल्लाहमै छौं ।'
प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन् । उनले यसअघि २०७९ पुस २६ र चैत ६ गते विश्वासको मत लिएका थिए ।
कांगेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । त्यसको १ महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले मिति भने ठ्याक्कै नतोकिएको बताए ।
'हामी जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीसँग पनि छलफल गरिरहेका छौं,' उनले लोकान्तरलाई भने, 'धेरै छिटो पनि होइन र ढिलो पनि नहुने गरी विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी छ ।'
नयाँ गठबन्धनलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको समर्थन छ ।