२५ जेठ २०८३, सोमबार

‘पुजार सार्की’मा प्रदीप खड्काको यस्तो लुक

फागुन २७, २०८०
काठमाडौं
‘पुजार सार्की’मा प्रदीप खड्काको यस्तो लुक

अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको फिल्म ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ । यसैबीच अभिनेता प्रदीप खड्काको आइतबार परेको जन्मदिनको अवसर पारेर फिल्ममा उनको भूमिकाको पात्र परिचय गराइएको छ । 

निर्देशक दिनेश राउतले उनले नाम ‘मैत बहादुर’ रहेको जनाउँदै पात्र परिचय दिने दुई वटा फोटो सार्वजनिक गरेका छन् । फोटोमा खड्का लामो कपाल पालेका, कालो टोपी पछाडि ढल्काएर लगाएका र पञ्चेबाजामा प्रयोग हुने प्रमुख बाजा ‘दमाहा’ बजाउँदै गरेको देखिएका छन् । फोटोले उनी बाजा बजाउने पात्रको रूपमा परिचय दिएको छ । 

एउटा चकलेटी अभिनेताको यो रुपान्तरणलाई धेरैले प्रशंसा गरेका छन् । 

निर्देशक राउतले यो फिल्मलाई जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । तर, निर्देशकले मैत बहादुरको थर भने खुलाएका छैनन् । यसको अर्थ प्रदीपले निभाएको चरित्र पहिचानको सङ्घर्षमा रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ । 

यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । यसअघि विकास र दिनेशले फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए । महत्त्वाकाङ्क्षी फिल्म ‘पुजार सार्की’को कास्की जिल्लाको कास्कीकोटमा छायाङ्कन भइरहेको छ । 

फिल्ममा अभिनेत्रीद्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दैछन् । एक दर्जन फिल्ममा संगीत दिएका भुसालले पहिलो पटक फिल्म निर्माण गर्न लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्