
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।
गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘अन्तिम संस्कार’का निर्देशक शाहीको नयाँ फिल्मको टाइटल भने तय गरिएको छैन । साइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्रयाम्साएर एकाउन्टेनको सहकार्य रहने छ । पछिल्लो समयका व्यस्त र लोकप्रिय अभिनेता प्रदीप खड्काको बर्थ डेको अवसर पारेर हिजो शनिवार निर्माण टिम र खड्काबीच सम्झौता भएको हो ।
फिल्मको कथा निर्देशक शाहीले नै लेखेका छन् । फिल्मको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ले बताए । प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ले अमेजन प्राइममा राम्रो दर्शक पाउन सफल बनेको थियो । अभिनेता प्रदीप खड्का यतिबेला ‘पुजार सार्की’को छायांकनमा व्यस्त छन् । उनले अन्य केही फिल्म साइन गरिसकेका छन् ।