
काठ चोरीको आरोपमा सुनसरीको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको इटहरी उपहानगरपालिकास्थित ब्रह्मपुर सामुदायिक वनका अध्यक्ष मनोज तामाङ काठ चोरीको आरोपमा पक्राउ परेका हुन् । उनीमाथि छिमेकी हासपोसा सामुदायिक वन उपभोक्ता समूहको काठ चोरेको आरोप छ ।
हासपोस सामुदायिक वनबाट हराएको काठ ब्रह्मपुर सामुदायिक वनमा भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय सुनसरीका निमित्त कार्यालय प्रमुख धर्मानन्द यादवले बताए । तामाङले काठ चोरी गरेको समेत स्वीकारेको यादवले जानकारी बताए । उनलाई वन ऐन २०७६ अनुसार मुद्दा चलाउने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
सामुदायिक वन र वनरक्षक कृष्ण गेलालको टोलीले चोरिएको काठ जंगलमा फेला पारेको थियो । कार्यालयका अनुसार अध्यक्ष तामाङले काठ चोरी गर्न तीन सुराकीसमेत राख्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरू भने फरार छन् । ‘राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रबाट काठ काटिएको छ । सामुदायिक वनका अध्यक्षहरू बदमास भएका छन् । पक्राउ परेका तामाङले पनि १० लाख खर्च गरेर चुनाव जितेको रे ! त्यही खर्च असुल्न अध्यक्ष आफैंले काठ चोरी गरेको खुलेको छ,’ यादवले भने ।
गत फागुन तेस्रो साता हासपोसा सामुदायिक वनबाट १२ फिट गोलाई भएको सालको सिंगै रुखको काठ चोरी भएको थियो । चोरी भएको काठको मूल्य १५ देखि २० लाख रुपैयाँ बराबर हो ।
डिभिजन वन कार्यालयले ढलेको रुख भने पनि स्थानीयले भने सामुदायिक वनमा रहेको सबैभन्दा पुरानो ठाडो रुख चोरी भएको दाबी गरेका छन् । ‘घाँसदाउरा जानेले जंगलकै पुरानो भनेर चिनिएको रुख नदेखेपछि स्थानीयले उपभोक्ता समितिलाई भनेका रहेछन्,’ एक स्थानीयले भने, ‘तर वनले ढलेको रुख भनेर मुद्दा कमजोर बनाउन खोज्दै छ ।’
तामाङ कांग्रेसका स्थानीय नेता हुन् । उनलाई छुटाउन मुद्दा कमजोर बनाउने प्रयास भइरहेको वनका कर्मचारी बताउँछन् । त्यसका लागि नेताहरूले दबाब दिने गरेको उनीहरूको भनाइ छ ।
काठ चोरी भएको विषयमा छानबिन गर्न डिभिजन वन कार्यालय सुनसरीले समिति बनाएको छ । सूचना अधिकारीसमेत रहेका डिभिजन वन कार्यालय सुनसरीका वन अधिकृत जीवनकुमार यादवको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो । समितिको सदस्यहरूमा अधिकृत जमानसिंह मोक्तान र अधिकृत चुडामणि गौतम छन् । ब्रह्मपुर सामुदायिक वनका उपाध्यक्ष टेकबहादुर बस्नेत, उपभोक्ता समिति सदस्य एवम् वन हेरालु आशिष तामाङ र पेम्बा तामाङविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरी खोजी भइरहेको डिभिजनका निमित्त प्रमुख यादवले बताए ।
काठ तस्करीमा वन कर्मचारीको पनि संलग्नता रहेको सामुदायिक वन समूहका पदाधिकारीहरूको आरोप छ । उनीहरूले वनकै कर्मचारीमाथि पनि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रादेशिक कार्यालय इटहरीमा उजुरी दिएका छन् ।