
सरकारले हरेक वर्ष फागुन–चैत महिनामा सार्वजनिक बिदा घोषणा गरी सोही अनुसारको वार्षिक क्यालेन्डर प्रकाशन गरेर बिदा व्यवस्थापन गर्दै आएको छ ।
यही फागुन २८ गते सोमवारका दिन ग्याल्पो ल्होसारका दिन सार्वजनिक बिदा दिएको सन्दर्भमा गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी वर्षको क्यालेन्डर सार्वजनिक हुनुअघि विवादरहित ढङ्गबाट समस्या सम्बोधन गर्ने पक्षमा सरकार रहेको बताए । त्यसका लागि सहयोग गर्न पनि उनले सम्बद्ध सबैसँग अनुरोध गरेका छन् ।
बहुजातीय एवं बहुधार्मिक देश नेपालमा सबैको धर्म, संस्कृति र भावनालाई समेटेर अघि बढ्नुपर्ने दायित्व सरकारको रहेको उनले बताए ।
'एक वर्षअघि प्रकाशित क्यालेन्डर हामी सबैको घरघरमा झुन्डिएकै छ, कुनै धार्मिक पर्व विशेषको बिदाका दिन गल्ती भएको जानकारी प्राप्त भएको भए तत्क्षणमै सच्याउन सकिन्थ्यो, आगामी वर्षको बिदाको हकमा सम्बन्धित समुदायसँग छलफल गरेर मात्र क्यालेन्डर प्रकाशित गरिने छ', उनले भने ।
करिब एक महिनाअघि ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीसँग सम्बन्धित समुदायका प्रतिनिधिले यस विषयमा कुरा राख्दै पञ्चाङ्ग निर्णायक समितिमा सबै धर्म समुदायको प्रतिनिधित्व हुनुपर्ने भनी माग राखेको भन्ने जानकारी प्राप्त हुनासाथ केन्द्रमा गृह सचिवबाट सोधखोज हुँदा स्पष्ट एवं ठोस जवाफ नआएपछि क्यालेन्डरअनुसार बिदा दिएको उनले स्पष्ट पारे ।
प्रवक्ता भट्टराईले यस वर्षको अनुभवबाट पाठ सिक्दै सम्बन्धित धार्मिक समुदायका प्रतिनिधिसँग समेत छलफल गरी आगामी वर्षको पर्व बिदा निर्धारण गरिने जानकारी दिए ।