०४ साउन २०८३, सोमबार

नागरिकको आवश्यकता अनुसार बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन

फागुन २९, २०८०
काठमाडौं
नागरिकको आवश्यकता अनुसार बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन

नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमा कम्पनीका प्रदेश, शाखा तथा उप–शाखा कार्यालयका प्रमुख, कर्मचारी र सरोकारवालाहरूसँग सोमबार वीरगञ्जमा बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बजारको अध्ययन अनुसन्धान गरी नागरिकको आवश्यकता अनुसार बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिए । 

अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरूले प्राधिकरणबाट स्वीकृत बीमालेखमा कुनैपनि परिवर्तन नगरी हुवहु लागू गर्नुपर्छ, कम्पनीका प्रदेश तथा शाखा कार्यालयले प्रत्यायोजित अधिकार प्रयोग गर्नुपर्छ, दाबी भुक्तानीलाई सहज बनाउन सहयोग गर्नुपर्छ ।”

अध्यक्ष सिलवालले सुशासनको बाटो नहिंड्ने, उधारो बीमा गर्ने, कर्मचारीको तालिमका लागि छुट्याइएको रकम सोही प्रयोजनमा प्रयोग नगर्ने बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरिने बताए । 

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा सम्बन्धी समग्र विषयमा जानकारी दिनुका साथै कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । 

कार्यक्रममा सहभागीहरूले मधेश प्रदेशमा हाल ९ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच उल्लेख्यरूपले बढाउन रणनीतिक योजना बनाएर अघि बढ्नुपर्ने र विश्वविद्यालयका पाठ्यक्रममा बीमा विषय समावेश गरी छुट्टै पठनपाठनको व्यवस्था गर्न पहल गर्नुपर्ने धारणा राखेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्