राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेका छन् ।
गत सोमवार मन्त्रिपरिषद्ले गरेको निर्णयबमोजिम राष्ट्रपति पौडेलले बुधवार मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई पदमुक्त गरेका हुन् ।
‘मन्त्रिपरिषद् बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम तीनवटा प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको हो,’ राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेरिएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख फेरबदल गर्ने निर्णय गरेको थियो ।
यससँगै सरकारले नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस पनि गरिसकेको छ ।
जसअनुसार मधेशमा सुमित्रा भण्डारी र गण्डकीमा डिल्लीराज भट्ट छन् ।
यस्तै सुदूरपश्चिममा नजिर मियाँको नियुक्तिको लागि सिफारिस गरिएको छ ।
मियाँ अर्घाखाँचीका एमाले नेता हुन् । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई यथावत् राखिएको छ ।