
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा तेस्रोपटक विश्वासको मत लिँदै गर्दा एकअर्काबीच गम्भीर अविश्वास प्रकट भएका छन् । प्रधानमन्त्रीका रूपमा १५७ सांसदको समर्थन पाए पनि प्रचण्ड आत्मविश्वासी भने देखिएनन् ।
प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई ‘अब बसौं, कुरा गरौं’ भनेर गरेको प्रस्तावपछि संसद्को माहोल बदलिएको हो ।
शुरूआती मन्तव्यमा एमालेप्रति निकै उदार र कांग्रेसप्रति गुनासो गर्ने हिसाबले प्रस्तुत भएका प्रचण्ड जवाफ दिने बेला भने दुवै दलमाथि खनिए ।
एमाले अध्यक्ष ओलीको प्रस्ताव र कांग्रेस सभापति देउवाको हाउभाउप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘यहाँ पूर्व प्रधानमन्त्री केपी ओलीजी बोल्दै गर्दा एउटा मर्मका साथ बोली नचल्ने भन्ने भाषा प्रयोग गर्नुभयो । उतापट्टि माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब बोल्ने हो भन्नुभो । बोल्नुस् । म भन्छु, बोली फुकाउनुस् । बनाउनुस् सहकार्य । माओवादी केन्द्र, प्रचण्ड वा प्रधानमन्त्री त्यसबाट दबाबमा पर्छ भन्ने भ्रम नराख्नुस् ।’
उनले ठूला दल मिले भने तेरो के हुन्छ भनेर आफूलाई दबाबमा राख्न खोजिएको गुनासो गरे । ‘ठूला दल हामी मिल्यौं भने तेरो के हुन्छ भनेर पहिला पनि भनियो, अहिले पनि भनियो । मेरो त कामना छ, तपाईंहरू मिल्नुस्,’ प्रचण्डले भने, ‘तपाईंहरू सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रतिपक्षमा बसेर देशको पक्षमा, संविधानको पक्षमा र परिवर्तनको पक्षमा लडिराख्छ ।’
प्रचण्ड यतिमै रोकिएनन्, अझै आक्रोशित हुँदै थपे, ‘हिजो त तपाईंहरू सबै मिलेर मेरो टाउकै काट्न खोज्या हो नि ! डराउँछ माओवादी केन्द्र भन्ठान्नुभाछ ? त्यस्तो हुँदैन । राजनीतिक रूपमा हामीलाई फाइदा हुन्छ भन्ने लाग्यो भने मिल्ने हो, त्यस्तो लागेन भने छाड्ने हो । त्यस्तो स्वतन्त्रता सबै दललाई छ ।’
विश्वासको मतका लागि प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्तावको पक्षमा बोलेका एमाले अध्यक्ष ओलीले कांग्रेसप्रति तीतो पोखेका थिए । साथै, अब बसेर कुरा गर्न उनको प्रस्ताव थियो ।
‘वर्णाश्रम व्यवस्थामा के चल्दैन भनेको सुनेको थिएँ, कुरा चल्दैन भनेको चाहिँ नेपाली कांग्रेसबाट सुनियो । एमालेसँग कुरा चल्दैन,’ ओलीले भने ’पुराना मित्र हौं नि हामी । तीन वर्षसम्म यो देशका समस्याबारे कुरा गरौं न भन्दा कुरै चल्दैन !’

संसदमा केही सीट तलमाथि भए पनि पपुलर भोटमा एमाले अगाडि रहेको भन्दै उनले अब बसेर कुराकानी गर्न प्रस्ताव गरे । ‘शेरबहादुरजीलाई म भन्न चाहन्छु– बसौं, कुरा गरौं न । प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने हुँदैन ।’
त्यसपछि बोलेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यो प्रसंग उद्धृत गरे । साथै, धोका पाएकाहरू मिले भने के होला भनेर प्रधानमन्त्रीलाई दबाबमा राख्ने प्रयास गरे ।
‘गत वर्ष विश्वासको मत लिँदा एमालेले धोका पाएको थियो, अहिले कांग्रेसले पाएको छ । धोका पाएकाहरू एक ठाउँमा उभिए भने तपाईंको राजनेताको हबिगत के होला ? कुरा नचल्नेहरूको कुरा चल्यो भने यहाँको यात्रा कता होला ?’

संसद्मा यस किसिमको बहस चलिरहँदा प्रधानमन्त्री बेचैन देखिएका थिए । ओली, विश्वप्रकाशको कटाक्ष त छँदै थियो । विश्वासको मत दिने प्रमुख दलमध्येका जसपा र नेकपा एकीकृत समाजवादीका नेताको प्रस्तुति पनि मत दिने, तर मन नदिने आशयको थियो । यसले पनि प्रधानमन्त्रीलाई जवाफी छलफलमा उत्रिँदा झन् आवेगमा ल्याउने काम गर्यो ।
जसापका नेता राजकिशोर यादवले विश्वासको मतको समर्थन गर्दछु भनेर प्रधानमन्त्रीलाई हौस्याउने गरी बोल्न शुरू गरे । तर, अन्त्य प्रधानमन्त्रीले अपेक्षा गरेको जस्तो देखिएन ।
‘१५ महिनामा प्रधानमन्त्रीले तेस्रोपटक रोस्ट्रममा विश्वासको मत माग्नुभएको छ । सहयात्री फेरिएको छ । तर, प्रधानमन्त्रीले विश्वासको मत पाइरहनुभएको छ,’ यादवले व्यंग्यात्मक शैलीमा भने, ‘यो विचित्रको विडम्बना हो । उहाँलाई शुभकामना दिन मन छ । तर, त्यो शुभकामना कुन रूपमा दिऊँ प्रधानमन्त्रीज्यू ?’
शुभकामना दिनुअघि उनले महाभारतको प्रसंग समेत झिके ।
‘महाभारतको समयमा अभिमन्युलाई उसका काका अर्जुनले युधिष्ठिरले आयुष्मान भवः भने, कृष्णले शुभकामना दिँदा आयुष्मान भनेनन् । ओजश्वी भवः भने । अभिमन्यूको आमा द्रौपदीले यसलाई सबैले लामो आयुको शुभकामना दिए, तपाईंले दिनुभएन, किन होला भनिन्,’ यादवले भने, ‘कृष्ण भगवान् भएको हुँदा सबै लीला थाहा थियो । उहाँले आयु लामो भएर हुँदैन, जति बाँचिन्छ त्यो कालमा उसले कसरी जीवन बाँच्यो त्यो महत्त्वपूर्ण हुन्छ भन्नुभयो ।’
उनीपछि बोलेका नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले पनि मत दिने, मन नदिने आशयको मन्तव्य राखे । संविधान रक्षाका लागि व्यक्तिवादविरुद्ध विद्रोह गर्दै विष पिएर आए पनि प्रचण्डले बाटोमा छाडेर अनैतिकता देखाएको उनको आरोप थियो ।
‘हाम्रो पार्टी एकीकृत समाजवादी संविधानको रक्षाका लागि र पार्टीभित्र जन्मेको व्यक्तिवादका विरुद्ध विद्रोह गरेर आएको हो । हामी विष पिएर तपाईंहरूको साथमा उभियौं, तर तपाईंले बाटोमा छाडेर हिँड्नुभयो, योभन्दा अनैतिकता के हुन्छ प्रधानमन्त्रीज्यू ?’ पाण्डेले प्रश्न गरे, ‘ओली र शेरबहादुरजीले घाँटी जोडे तपाईंको हालत के हुन्छ प्रधानमन्त्रीज्यू ?’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारीको करोडौं ठग्नेलाई किन गृहमन्त्री बनाएको भन्दै प्रश्न गरे ।
‘प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री मिलेर नागरिकता दुईवटा भएको मान्छे, पासपोर्ट दुईवटा भएको मान्छेलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाउनु भएन रु व्यक्तिगत रूपमा केही इर्ष्या छैन । अहिलेका गृहमन्त्रीलाई सहकारीको करोडौं ठगी गरेको आएको छ/छैन रु यस्तालाई मन्त्री बनाउने तपाईंहरू योग्य र गतिलो हो र ?’
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले त अघिल्लो वर्षबाटै प्रधानमन्त्रीको खेल्ने स्वभाव मात्रै रहेको बताए । अघिल्लो वर्ष आफूसमेत सहभागी हुँदा प्रधानमन्त्रीले समीकरण फेरबदल गर्न खोज्दा सचेत गराए पनि अहिलेसम्म पनि उस्तै शैली देखाउनु विडम्बना भएको उनले बताए ।

एमालेसहितका सबै नेताप्रति आक्रोश व्यक्त गरेका प्रधानमन्त्री रास्वपाप्रति भने नरम देखिए ।
‘यहाँ प्रश्न उठ्यो, प्रश्न उठेकालाई मन्त्री बनाउने के हो यो भनेर । मलाई त यो पनि थाहा छ नि, प्रधानमन्त्री बनाउन हिँडिराखेको कुरा पनि देखिराखिएकै छ । यति धेरै डबल स्ट्यान्डर्डको कुरा गर्ने ?’ प्रधानमन्त्रीले भने, ‘कोही आफूतिर आए प्रधानमन्त्री बनाउने भन्ने, आउँदैन भने भ्रष्टाचारीको आरोप लगाउने ? मुद्दामा परेकोलाई कारबाही गर्नुपर्छ भनेर डबल स्ट्यान्डर्ड देखाउने ? यस्तो राजनीतिमा चल्छ ?’
विश्वासको मत दिनेले पनि आफूलाई आरोपित गरेपछि प्रचण्डले उस्तै आक्रामकता देखाए ।
‘सत्ता गठबन्धनका साथीहरूले बोल्दा विपक्षबाट ताली खानुभयो । प्रधानमन्त्रीलाई धम्क्याउँदैमा देशको हित हुँदैन । चित्त बुझे मत दिनुस्, नभए नदिनुस्,’ प्रचण्डले भने, ‘मैले सबै दलका लागि त्याग गरेको छु । त्यसका लागि मलाई धन्यवाद दिनुपर्ने हो, तर तपाईंहरू त धोकेबाज भन्नुहुन्छ ।’
तेस्रो पटक समेत संसद्को विश्वास जिते पनि उनलाई प्राप्त मत भने घट्दै गएको छ ।
पहिलोपटक २७० मध्ये २६८ (९९.२५ प्रतिशत), दोस्रोपटक १७२ (६४.१८ प्रतिशत मत प्रधानमन्त्रीले पाएका थिए । तर, १४ महिनामा तेस्रोपटक प्रचण्डले १५७ जनाको अर्थात् ५८.५८ प्रतिशत मत मात्र पाएका छन् ।