३१ असार २०८३, बुधबार

डाइलासिस मशिन नहुँदा एक लाख बढी तिर्न बाध्य बिरामी

चैत २, २०८०
चितवन
डाइलासिस मशिन नहुँदा एक लाख बढी तिर्न बाध्य बिरामी
फाइल तस्वीर

सरकारले मिर्गाैलाका बिरामीलाई निःशुल्क डाइलासिसको व्यवस्था गरे पनि पर्याप्त मशिन नहुँदा बिरामी मासिक एक लाख रुपैयाँसम्म तिर्न बाध्य छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ आउने बिरामी निःशुल्क सेवा दिने मशिन अभावमा निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भएका हुन् ।

भरतपुर, बकुलहर रत्ननगर अस्पताल र चितवन मेडिकल कलेजमा निःशुल्क डाइलासिस सेवा भए पनि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा भने बिरामीले महँगो शुल्क तिर्न बाध्य भएका मिर्गाैला पीडित सरोकार समाज चितवनका अध्यक्ष जीवनाथ पराजुलीले बताए । निःशुल्कमा पालो नपाउँदा चर्काे मूल्यमा डाइलासिस गराउन बाध्य भएका उनको भनाइ छ ।

पराजुलीका अनुसार कलेज अफ मेडिकल साइन्सेसमा सुरुमा गएका बिरामीले एक पटकमा आठ हजार तिर्नुपर्ने हुन्छ । हप्ताको तीन पटकसम्म डाइलासिस गराउनुपर्नेले मासिक एक लाखभन्दा बढी तिर्नुपर्ने उनले बताए । यसका अतिरिक्त अन्य परीक्षण गर्नुपर्दा, आउजाउ तथा बसाइँ खर्चलगायत लगायत सबै बिरामीले बेहोर्नु परेको उनको भनाइ छ ।

पुराना बिरामीले आवश्यक कागजात पेस गरेपछि एक पटकको पाँच हजार तिर्ने गरेका मिर्गाैला पीडित सरोकार समाजका अध्यक्ष पराजुलीले जानकारी दिए । 'धेरै पुराना तीन जना बिरामीले भने एक पटकमा तीन हजार तिर्ने गरेका छन्,' उनले भने ।

पराजुलीले डाइलासिस मशिन थपेर सबैलाई निःशुल्क हुनुपर्नेमा जोड दिए । मेडिकल कलेजमा विसं २०७८ असोज अघिसम्म डाइलासिस निःशुल्क हुने गरेकामा अहिले शुल्क तिर्नुपरेको उनको भनाइ छ । अस्पतालमा १२ मशिनमध्ये अहिले आठ वटा मात्र सञ्चालनमा रहेको अस्पताल प्रशासनले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी भरतपुर अस्पतालमा १७ मशिन सञ्चालनमा छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले २४सै घण्टा र बिदाको दिनमा डाइलासिस सेवा प्रदान गरिँदै आइएको जानकारी दिए ।

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा चार वटा सञ्चालनमा छन् भने थप पाँच मशिन सञ्चालनको तयारीमा छन् । बकुलहर रत्ननगर अस्पतालमा १० वटा मशिन सञ्चालनमा छन् ।

भरतपुर महानगरपालिका–१२ की हिरामती लामाले दुई दिन बिराएर अस्पताल जानुपर्दा पीडा हुने गरेको बताउनुभयो । अस्पतालमा आलोपालो गरिने हुँदा रातिको समयमा कुरेर डाइलासिस गराउनुपर्ने बाध्यता रहेको उनले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्