०५ साउन २०८३, मंगलबार

कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेपछि श्रममन्त्रीको जवाफ– दिनुपर्ने आधार भएपछि माग्नैपर्दैन आफैँ दिन्छौँ

चैत २, २०८०
काठमाडौं
कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेपछि श्रममन्त्रीको जवाफ– दिनुपर्ने आधार भएपछि माग्नैपर्दैन आफैँ दिन्छौँ
फाइल तस्वीर ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आधार पुगेको दिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफैँ राजीनामा दिने बताएका छन् । शुक्रवारको प्रतिनिधिसभा बैठकबाट बाहिरिँदै मन्त्री अर्यालले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि प्रमाण पुगेको खण्डमा कसैले राजीनामा माग्नै नपर्ने बताएका हुन् । 

‘बैठक अवरुद्ध गर्ने, बजेट आउन नदिने, विधेयक प्रस्तुत गर्न नदिने पनि हुन्छ । हिजो सत्तापक्ष हुँदा ठीक अहिले प्रतिपक्षी हुँदा सबै बेठीक ?’ मन्त्री अर्यायले भने, ‘हाम्रा सभापतिलाई आरोप कहाँ लागेको छ ? उजुरी सर्टिफाइ छ ? जाहेरीमा कानून, ऐन, नियम पूरा गरेको छ कि छैन ? प्रहरीलाई सोध्नु जाहेरी लिएको छ कि छैन । राजीनामा दिनुपर्ने कारण छैन । माग्दैमा राजीनामा दिने होइन । मन्त्रीले राजीनामा दिने आधार भए माग्नु पर्दैन आफैँ दिन्छौं । हामी प्रमाणमा, आधारमा बहस गरौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस विषयमा प्रष्ट पारिसकेको पनि उनले बताए ।

प्रमुख प्रतिपक्षी दलका सांसदहरूले शुक्रवार प्रतिनिधिसभामा गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका थिए । सहकारी ठगी प्रकरणमा अनुसन्धानको दायरामा रहेको व्यक्ति गृहमन्त्री हुन नहुने भन्दै सांसदहरूले राजीनामा मागेका हुन् । बैठकमा बोल्दै कांग्रेसका करिब एक दर्जन सांसदले लामिछानेको राजीनामा मागेका हुन् ।

यसैको जवाफ रास्वपाका उपसभापतिसमेत रहेका मन्त्री अर्यालले दिएका हुन् । 

कमेन्ट गर्नुहोस्