सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन शुरू भएको छ । चैत ५ गते पक्राउ परेका महरासँग बुधबारदेखि मात्रै बयान लिन शुरू भएको जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले जनाएको छ ।
कार्यालयका प्रमुख सन्देश श्रेष्ठले महरासँग बयान शुरू भएको र आज पनि बयान लिइने जानकारी दिए । उनलाई काठमाडौं जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको छ ।
अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ । निजलाई सीआइबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आज समाप्त हुने भएकाले बयान र अनुसन्धान नसकिए पुन: म्याद थप गरिने सीआइबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।
गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उनको नाम जोडिएको छ । त्यसबेला सीआइबीले उनीसँग बयान कागज गरेर मात्रै छाडेको थियो । प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षमा थुनामा छन् ।