काठमाडौं, २९ पुस — उत्तर कोरियाले जुनसुकै बेलामा लामो दूरीको क्षेप्यास्त्र परीक्षण गर्ने धम्की दिएपछि अमेरिका सतर्क भएको छ ।

अमेरिकाको रक्षा मन्त्रालयका अनुसार सम्भावित क्षेप्यास्त्र परीक्षणमाथि निरीक्षण गर्नका लागि अमेरिकाले उच्चस्तरीय राडर तैनाथ गरेको छ ।
सिएनएनका अनुसार, उत्तर कोरियाद्वारा अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको दाबीमाथि अमेरिकाले पहिलोचोटि सैन्य प्रतिक्रिया दिएको हो ।
अमेरिकी रक्षा अधिकारीहरूका अनुसार समुद्रमा तैनाथ गरिएको एक्स ब्यान्ड राडरले लामो दूरीको प्रक्षेपणका बारेमा पत्ता लगाउनेछ । यसका साथै यसले प्रक्षेपणको महत्वपूर्ण आँकडा पनि उपलब्ध गराउनेछ ।
यसअघि पनि उत्तर कोरियाका मिसाइल गतिविधिको जाँचका लागि धेरैचोडि राडर राखिसकिएको छ ।
निश्चित समयका लागि यो राडर समुद्रमा राखिने र सुरक्षाको समय आँकलन गरिने अमेरिकी अधिकारीले बताए । राडरलाई उत्तरी हवाईमा राखिएको छ । यसका अलावा कोरियाली प्रायद्वीपमा नजर राख्नका लागि अतिरिक्त सर्वे उपकरण राखिएका छन् ।
अन्तमर्हादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण कुनै बेला गर्नसक्ने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनको धम्कीपछि अमेरिकाले किमकी सानी बहिनी किम यो जोङसहित उत्तर कोरियाका सात अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।
एजेन्सी