
कान्ति बाल अस्पातालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सात वर्षीया बालिका सेन्जल शाहीको मृत्यु भएको छ । उनको मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको बालिकाको उपचारमा सरोकार राख्दै आएका राजु सुवेदीले जानकारी दिए ।
‘कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निजी अस्पतालमा उपचारकै क्रममा आज (आइतबार) निधन भएको छ,’ सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरे पनि सफल हुन सकेन ।’
गएको मंगलबार राति पौने १२ बजे कान्ति बाल अस्पतालको इमर्जेन्सीमा पुर्याइएकी बालिकालाई कान्तिले भर्नै नगरी फिर्ता पठाएको थियो । सिकिस्त बालिकालाई भर्ना नै नगरी फर्काएपछि अस्पताल प्रशासनको चौतर्फी आलोचना भइरहेको छ ।
बालिकालाई भर्ना नगरी फिर्ता गरेको घटनाको सामाजिक सञ्जालमा तीव्र विरोध भएपछि कान्ति बाल अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै पीआईसीयू बेड नभएका कारण बिरामी फर्काउनुपरेको दाबी गरेको थियो ।
सरकारी अस्पतालले फर्काइदिएपछि बाध्यताले निजी अस्पतालमा उपचार गर्नुपर्दा बालिकाका अभिभावकले थप ८ लाख ऋणसमेत बोक्नु पर्ने अवस्था सिर्जना भएको सुवेदीको भनाइ छ ।
'सरकारी अस्पतालले फर्काइदिएपछि बाध्यताले निजीमा उपचार गर्नुपर्दा थप ८ लाख ऋण समेत बोक्नुपरेको छ । जुन पहॅुचवाला हुनेखानेका लागि केही नहोला । तर, बागलुङको विकट निसिखोलाका न्यून आर्थिक अवस्थाको परिवारका लागि पीडामाथिको यो ऋण अर्को भारी हो,' उनले लेखेका छन् ।'