२४ जेठ २०८३, आइतबार

सामुदायिक वनका रुख जबरजस्ती नकाट्न माग

चैत १५, २०८०
काठमाडौं
सामुदायिक वनका रुख जबरजस्ती नकाट्न माग

मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) ले जबरजस्ती सामुदायिक वन क्षेत्रमा रुख कटान गर्न सुरु गरिएमा  आन्दोलन गर्ने चेतावनी दिएको छ । विभिन्न विकासका आयोजना निर्माणको क्रममा सामुदायिक वन उपभोक्ता समूहको अनुमतिबिना रुख कटान गरिएको भन्दै फेकोफनले अनुमतिबिना रुख कटान भए आन्दोलन गर्ने चेतावनी दिएको हो । 

काँकडभिट्टा–लौकाही सडक (पश्चिम खण्ड) विस्तारका क्रममा उक्त कार्यसँग सम्बन्धित आयोजना कार्यालयले सडक सिमानासँग जोडिएका सामुदायिक वन क्षेत्रका रुख सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहको सहमतिविना काटिएको  भन्दै फेकोफनले आपत्ति जनाएको छ ।

“समूहलाई जानकारी नै नदिई आयोजनाका नाममा कटान गरी काठ दाउरा आयोजना र डिभिजन वन कार्यालयले नियन्त्रणमा लिने कार्य सुरु गरिएको देखिन आएकोले उक्त कार्यप्रति सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको गम्भीर रुपमा ध्यानाकर्षण भएको  छ,” फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले भने, “उक्त सडक आयोजनाले हाल रुख कटान गर्न सुरु गरिएका क्षेत्र सामुदायिक वन क्षेत्रको सिमानाभित्र पर्दछन् भन्ने कुरा सामुदायिक वनका स्वीकृत कार्ययोजना अनुसार स्पष्ट नै रहेको छ ।”

सामुदायिक वन उपभोक्ता समूहद्वारा वर्षौँदेखि संरक्षण र व्यवस्थापन गर्दै आएका सामुदायिक वन क्षेत्रका रुख सडक आयोजना कार्यालयले कटान गरी काठ दाउरा नियन्त्रण गर्ने कार्य नेपालको वनसम्बन्धी प्रचलित कानुन अनुसार पूर्णतः गैरकानूनी रहेको उनको भनाइ छ ।

“अनुमतिबिना रुख काट्नु अन्यायपूर्ण भएकोले तत्काल सामुदायिक वन क्षेत्रमा रुख कटान गर्ने कार्य रोकी सामुदायिक वन उपभोक्ता समूहको माग सम्बोधन भएपछि मात्र सामुदायिक वन क्षेत्रका रुख कटान गरिनुपर्छ,” भण्डरीले भने, “रुख कटानपछि प्राप्त भएका काठ दाउरा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गर्न आयोजना कार्यालय र वन कार्यालय समक्ष हार्दिक आग्रह गर्दछौँं । ” 

वन नियमावली २०७९ को नियम १०३  (३) बमोजिम सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेको वनको हकमा आयोजनाले वन पैदावार कटान, मुछान तथा सङ्कलन गर्दा सम्बन्धित उपभोक्ता समूहको कार्यसमितिका प्रतिनिधि समेतको रोहवरमा उक्त कार्य गरी सम्बन्धित उपभोक्ता समूहलाई वन पैदावार हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ ।

सोही बमोजिम आयोजनाले कटान गरेका काठ दाउरा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गर्न फेकोफनको आग्रह छ । वन ऐन २०७६ को दफा ४२(८) बमोजिम आयोजनाका कारण हुन गएको अन्य क्षतिवापत प्रभावित सामुदायिक वन उपभोक्ता समूहलाई क्षतिपूर्तिसमेत उपलब्ध गराउन र वातावरण संरक्षण ऐन २०७६ को दफा १०(५) बमोजिम आयोजनाले गर्ने वातावरणीय क्षतिवापत क्षति न्यूनीकरणका कार्य गर्दा प्राभावित सामुदायिक वन उपभोक्ता समूहमार्फत् सञ्चालन गर्न पनि आग्रह गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्