
नयाँ दिल्ली–भारतमा आगामी लोकसभाका लागि हुन लागेको आमनिर्वाचनका लागि विपक्षी नेता राहुल गान्धीले केरलाको वायनाडबाट उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ताका क्रममा राहुलका हजारौं समर्थक उनकै साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
गान्धी परिवारको लामो विरासत बोकेका ५३ वर्षीय राहुलको कांग्रेस आई पार्टी पछिल्ला दुई आमनिर्वाचनमा नराम्रोसँग पराजित भएको थियो ।
यसपटकको चुनावमा पनि भारतीय जनता पार्टीका तर्फबाट चुनावी मैदानमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीसामु कांग्रेस आई कमजोर रहेको अनुमान गरिएको छ । मोदीविरोधी मोर्चाको नेतृत्व गरिरहेका राहुललाई यसपटक पनि बहुमत ल्याउनु फलामको चिउरा चपाएसरह रहेको विश्लेषण गरिएको छ ।
तैपनि दक्षिणी राज्य केरलाको वायनाडमा उनको समर्थनमा धेरै मानिस उपस्थित भएका छन् ।
बहिनी प्रियङ्का गान्धीसहित वायनाड पुगेका राहुलले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूले आमजनतालाई आफ्नै परिवारसरह मान्ने गरेको बताएका थिए ।
वायनाडमा यो उनको दोस्रो उम्मेदवारी हो । उनी सन् २०१९ मा यही क्षेत्रबाट लोकसभा सांसदमा निर्वाचित भएका थिए । तर केही समयअघि उनले प्रधानमन्त्री मोदीलक्षित गलत टिप्पणी गरेको आरोपमा अदालतको आदेशबाटै सांसद पद गुमाउनु परेको थियो ।
भारतमा आगामी अप्रिल १९ बाट ६ हप्ता लामो शृंखलाबद्ध चुनाव हुँदैछ । जसमा झण्डै एक अर्बले मतदान गर्नेछन् ।