
नेपाल टेलिकमले कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन पीएसटीएन सेवालाई फाइबर टू दी होम (एफटीटीएच)मा स्तरोन्नति गरेको छ ।
शुक्रवार दूरसञ्चार कार्यालय सुनधारामा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी ‘अर्याल’ले कपर प्रविधिको टेलिफोन सेवा बन्द गरिएको जानकारी दिएकी हुन् ।
कपर प्रविधिबाट वितरित टेलिफोन तथा एडीएसएल लाइनहरू पूर्ण रुपमा बन्द गरेर आधुनिक फाइबर प्रविधिको एफटीटीएच नेटवर्क शुरू गरिएको उनले जानकारी दिइन् ।
कम्पनीका अनुसार दूरसञ्चार कार्यालय सुनधाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरूमा रहेका कपर प्रविधिमा आधारित पीएसटीएन सेवालाई एफटीटीएचमा स्तरोन्नति गरिएको छ ।

कार्यक्रममा निर्देशक अर्यालले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको माग अनुरूप पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रुपान्तरण गरिएकोमा खुशी व्यक्त गरिन् ।
एफटीटीएच प्रविधिमा माइग्रेसन भइसकेपछि अब ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा लिन सक्नेछन् ।
साथै यो सेवा ग्राहकहरूका लागि फलदायी हुने विश्वास कम्पनीको रहेको छ ।