
आरजु राइस मिलले स्थानीय किसानहरूको सहकार्यमा प्रिमियम बास्नादार चामल बिक्री वितरण शुरू गरेको छ । यसलाई एभरेस्ट एरोम्याटिक सुपर लङ ग्रेन चामल नाम दिइएको छ ।
मिलका अध्यक्ष वीरेन्द्र बस्नेतले पेप्सीकोलास्थित कार्यालयमा यस चामलको औपचारिक बिक्री शुरूवात घोषणा गरेका हुन् ।
पूर्वका केही जिल्लाहरूमा ४ हजारभन्दा बढी बिगाहा जग्गामा ४ हजार किसानसँग सहकार्य गरेर स्थानीय चामल उत्पादन गरिरहेको आरजु राइस मिलले बिक्री शुरू गरिएको यो चामल बासमती चामल भन्दा राम्रो गुणस्तरको रहेको दाबी गरेको छ ।
चामलको शुभारम्भ गर्दै बस्नेतले भने, 'हामीले धेरै मेहेनेत गरेर नेपाली किसानको मात्र धान किनेर त्यसलाई आम उपभोक्ता माझ पुर्याएका छौं । यसको मूल्य प्रतिकिलो २ सय रुपैयाँ भन्दा घटी हुन्छ । केही दिनमा यसको मूल्य तोक्छौँ ।
उनले अहिले चैते धान ४ सय टन उत्पादन भएको जानकारी दिए । त्यस्तै वर्षे उत्पादनका लागि आफूहरूले योजना बनाइरहेको बस्नेतको भनाइ छ ।
स्थानीय किसानको माझमा मोरङको डाँगीहाटमा आरजु राइस मिल रहेको छ । यसले निकै लामो समयदेखि ४ हजारभन्दा बढि किसानको सहकार्यमा विभिन्न जातका धानहरू उत्पादन गर्दै आएको छ ।
स्थानीय किसानहरू निर्वाहमुखीबाट अब बिस्तारै व्यवसायिकरणतर्फ अग्रसर भइरहेका बस्नेतले बताए ।
यसअघि आरजु राइस मिलले मन्सुली तथा लोकल प्रिमियम चामल बजारमा निकै सहज तथा सरल मूल्यमा उपभोक्तालाई बिक्री वितरण गर्दै आएको थियो ।
स्थानीय किसानका लागि रोपाइँभन्दा अगाडि नै मिलले न्यूनतम समर्थन मूल्य तोक्ने गरेको छ । यसले किसानले धान मिलमा ल्याएको दुई दिनभित्रै अनलाइन बैंकिङ माध्यमबाट भुक्तानी दिने गरेको छ ।
शुक्रवार आरजु राइस मिलले प्रिमियम बास्नादार चामलको ब्लाइण्ड टेस्टसमेत गराएको थियो ।