
गत वर्षको भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोटमा एक विद्यालय निर्माणका लागि यही अप्रिल ८ तारिक (चैत २६)मा बेल्जियममा च्यारिटी साँझको आयोजना हुने भएको छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति बेल्जियमको आयोजना हुन लागेको उक्त कार्यक्रममा आफ्नो प्रस्तुति दिनका लागि भ्वाइस अफ नेपाल सिजन– ३ का विजेता किरण गजमेर आउन लागेका छन् ।
साथै कार्यक्रममा बेल्जियमस्थित चर्चित स्थानीय कलाकार लाहुरे कान्छाले समेत आफ्नो प्रस्तुति दिनेछन् । यस्तै विभिन्न समूहद्वारा विविध नृत्य प्रस्तुति दिने आयोजकले जनाएका छन् ।
नेपालीहरूको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदानसँगै बेल्जियमको शहर लुभेनमा परोपकारी कार्यक्रम आयोजना गरिएको अध्यक्ष सीता सापकोटाले बताइन् ।
‘यसपटक हामीले शुभकामना आदानप्रदान मात्रै गर्दैनौं, हामीले जाजरकोटमा स्कूल बनाउने जुन परोपकारी लक्ष्य बनाएका छौं, त्यो पूरा पनि गर्छौं,’ उनले भनिन्, ‘परोपकारी काममा सबैको साथ मिलेको छ, बेल्जियमबासी नेपाली समुदायबाट अझै अपेक्षा गरेका छौं ।’
जाजरकोटमा भूकम्प गएपश्चात् राहातका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति बेल्जियमले शुरूमा नै आह्वान गरेको थियो । जसअनुरुप विद्यालय निर्माणका लागि केही सहयोग रकम पहिला नै उठिसकेको छ । बाँकी यही च्यारिटी साँझमा उठाउने अपेक्षा गरिएको अध्यक्ष सापकोटाले जनाइन् ।