
फ्रेन्डसिप कप टी-२० प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
भारतको गुजरातस्थित साई मेघपन क्रिकेट मैदानमा आइतवार भएको फाइनलमा खेलमा गुजरातलाई १८ रनले हराउँदै नेपालले उपाधि हात पारेको हो ।
नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनायो ।
नेपालले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो ।
नेपालले दिएको १ सय ७७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा गुजरातले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५८ रन मात्र बनायो ।
नेपालका ब्याटिङ गर्ने क्रममा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७४ रनको योगदान दिए । यसक्रममा उनले ४७ बल खेल्दै चार छक्का र पाँच चौका हाने । यस्तै आसिफ शेखले ३४, कुशल मल्लले अविजित ३१ तथा कुशल भुर्तेलले १९ रन बनाए ।
बलिङतर्फ गुजरातका जयमित पटेल, स्नेह पटेल, तेजास पटेल र जाला युवराजसिंहले एक एक विकेट लिए ।
गुजरातका लागि ब्याटिङ गर्ने क्रममा कप्तान उमङ्ग रोहितकुमारले २८ बलमा सर्वाधिक ४० रन बनाए । यस्तै आर्य देसाईले ३६, रुद्र पटेलले १७, हर्ष देसाईले १५ तथा जयमित पटेलले १५ रन जोडे ।
बलिङतर्फ नेपालका अविनाश बोहोराले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र कुशल मल्लले एक एक विकेट लिए ।