
म्याग्दीका पशुगोठ लेकमा सार्न थालिएको छ । गर्मी बढेसँगै बोटबिरुवा र घाँसका पालुवा खुवाउँदै गोठाला बेंसीबाट लेकतर्फ लागेका हुन् । चिसोमा न्यानोका लागि बेंसी झारिएका भेडाबाख्रा, गाईभैँसी, घोडा र चौँरी गाईका घुम्ती गोठहरु लेकमा सार्न थालिएको छ ।
रघुगङ्गा गाउँपालिका–८ का भेडापालक कृषक पदम छन्त्यालले पात्लेखर्क, सानो धुरी, ठूलो धुरी, रिहगाड हुँदै असारको पहिलो साता रिरुको बुकी पुग्ने गोठ भदौ महिनासम्म त्यहाँ रहने बताए। “उभौली लागेपछि गोठ लेकतर्फ लैजान थालेका छौँ । पालुवा पलाउँदै गरेको पोषिलो घाँस खुवाउन दुई÷तीन दिनका ठाउँ फेर्दै गोठ सार्दैसार्दै चार हजार आठ सय मिटर उचाइको रिरुको बुकीमा पुग्छौँ”, उनले भने, “गोठालालाई चाहिने खाद्यान्न, लत्ताकपडा र भेडालाई नुनसँगै बोकेर हिँडेका छौँ ।”
चालिस वर्षीय छन्त्यालले वैदेशिक रोजगारको विकल्पमा बाबुबाजेले गर्दै आएको भेडापालनलाई निरन्तरता दिएका छन् । उनले झण्डै चार सय भेडा पालेका छन् । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । असार, साउन र भदौमा बुकीमा चराएपछि असोजमा गोठ दसैँको असपासका गाउँबस्ती नजिकै ल्याउने चलन छ । हिउँदमा बेंसीका फाँटमा ल्याइने गोठ बर्खामा हिमालको फेदीका बुकीमा पुग्ने गर्दछन् ।
म्याग्दीमा करिब दुई सय घुम्ती गोठ रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र केन्द्रका प्राविधिक गणेश रिजालले बताए । घुम्ती गोठका लागि केन्द्रले सहयोग गर्दै आएको उनले बताए ।