३२ असार २०८३, बिहीबार

त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

चैत २७, २०८०
काठमाडौं
त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबीच अध्ययन/अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बराल तथा बेइजिङ फरेन स्टडिज विश्वविद्यालय परिषद्का अध्यक्ष प्राध्यापक डा वाङ डिङह्वाबीच यससम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार त्रिवि र बेइजिङ फरेन स्टडिजबीच विद्यार्थी, प्राध्यापक, प्राज्ञिक व्यक्तित्व तथा शैक्षिक प्रशासनका अधिकारी एक अर्कोमा आदानप्रदान गर्नेछन् ।

दुवै विश्वविद्यालयले आवश्यक ठानेका क्षेत्रमा संयुक्त अनुसन्धानमा सहकार्य गर्ने तथा शैक्षिक सामग्री तथा सूचना आदानप्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौता कार्यान्वयनका लागि दुवै विश्वविद्यालयबीच थप गृहकार्य गरिने, सम्झौता कार्यान्वयनसम्बन्धी आर्थिक पक्षमा छुट्टै परामर्श गरिने तथा सम्झौताले नसमेटेका पक्षमा थप परामर्श गरी छुट्टै सम्झौता गर्न सकिने पनि सम्झौतामा उल्लेख छ ।

सम्झौताको अवधि पाँच वर्षको रहने र दुवै पक्षको लिखित सहमतिपछि नवीकरण हुनेछ । 

त्यसअवसरमा बेइजिङ्ग फरेन स्टडिज विश्वविद्यालय परिषद्का अध्यक्ष प्राध्यापक डा डिङह्वाले सम्झौताले दुई विश्वविद्यालयबीच मात्र नभई नेपाल र चीनबीचकै दौत्यसम्बन्धमा नयाँ आयाम थपेको बताए ।

विश्वका एक सय ८५ देशका प्रमुख विश्वविद्यालयसँग बेइजिङ फरेन स्टडिजले यसप्रकारको सम्झौता गरिसकेको उनले बताए । 

प्राध्यापक डा डिङह्वाले दुवै विश्वविद्यालयबीच गहन सहकार्यका लागि दुवैका भाषा विभागबीच प्राज्ञिक ज्ञानको आदानप्रदान शुरू गरिनुपर्ने र एक-अर्काको देशमा प्रत्यक्ष भ्रमणसमेत पनि शुरू गर्नुपर्ने बताए ।

यसैगरी अनुसन्धानका क्षेत्रमा समेत दुवै विश्वविद्यालयबीच सहकार्य गरिनुपर्ने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्